हेटौंडा । नेपाली समाज सदियौंदेखि खेतीपातीबाट गुज्रिँदै आएको समाज हो । विकसित समाजमा भने खेतीपातीका अनेक विकल्प अपनाउन थालिएको छ । मकवानपुरको पहाडी क्षेत्रलाई हेर्ने हो भने खेतीपाती पनि पर्याप्त नहुँदा त्यस क्षेत्रमा बसोबास गर्ने विपन्न समुदाय वर्तमान अवस्थामा पनि अनिकालको चपेटामा छ ।
खोरियाबारीमा राम्रो उत्पादन नहुने र रोजगारको विकल्प नहुँदा चेपाङ समुदायले आफ्ना बालबच्चालाई शिक्षादीक्षा दिनसमेत नसकिरहेका बेला गामबेंसीको चेपाङ संरक्षण केन्द्रले भने शिक्षासँगै व्यवहारिक सिकाइलाई पनि जोड्ने प्रयास गर्दै आएको छ । विशुद्ध चेपाङ बालबालिकालाई आवासीय सुबिधासहित शैक्षिक विकास गराउने उद्धेश्यसहित स्थापित केन्द्रले केन्द्रमै खेतीपातीको पनि अभ्यास थालेको हो ।
केन्द्रमा हाल १ सय ५० बालबालिकाले आश्रय लिइरहेका छन् । आधारभुत तहदेखि उच्च तहसम्म त्यहीं बसेर अध्ययन गरिरहेका छन् । उनीहरुलाई शिक्षामा मात्र नभइ व्यवहारिक सिपमा समेत अभ्यस्त बनाउनका लागि केन्द्रपरिसरमा बिभिन्न तरकारी तथा फलफुल उत्पादन गर्न थालेको केन्द्र अध्यक्ष केपीकिरण शर्माले जानकारी दिए ।
हाल केन्द्रमा फर्सीको मुन्टा झलिरहेको छ । सिमी, बोडीलगायत तरकारीजन्य गेडागुडी पनि उत्पादन भएका छन् । त्यसबाट केन्द्रमा आश्रित बालबालिकालाई नियमित खानपानमा टेवा पुगेको छ । ‘फर्सीको मुन्टा, कटहर, बोडी, सिमी, खुर्सानीलगायत तरकारी खाने बेला भएका छन् । यसले तरकारीजन्य वस्तु आयात गर्ने क्रम घटाएको छ,’ उनले भने । कर्कलो (पिँडालु), बेसार, ड्रागन, अम्बा, अमलाजस्ता कृषि उत्पादनको फसल लाग्ने बेला भएको छ । दुई वटा गाईसमेत पालिएको केन्द्रमा ठूला विद्यार्थीले बिदाको दिन कृषिक्षेत्रमा योगदान दिँदै आएका छन् ।
‘चेपाङ बालबालिकालाई पठनपाठनसँगै कृषिक्षेत्रमा समेत सिकाइ हुने अपेक्षासहित खेतीपाती गर्दा सिप विकाससँगै केन्द्रमा प्रयोग गर्न पाइएको छ,’ उनी भन्छन्—यसले हालको मौसममा हरियो सागपात धेरै किन्नु परेको छैन । आगामी वर्षदेखि केन्द्रले उत्पादन गरेको बेसारलाई पनि ब्राण्ड बनाउने योजना अघि सारेको उनले बताए । ‘यहाँ थोरै क्षेत्रफल भएको हुँदा बिक्रीकै लागिभन्दा पनि कोसेलीस्वरुप उपहार दिन सकिन्छ कि भन्ने सोच छ,’ उनी भन्छन्—केन्द्रलाई सहयोग गर्ने दाताहरुलाई आधा किलो बेसारको धुलो उपहार दिन सक्ने वातावरण बनेको छ । फर्सी र सिमीको वीउ बजारबाट ल्याए पनि पिँडालु भने चेपाङ गाउँबाट ल्याएर लगाइएको उनले बताए । पछिल्लो समय धेरैको चासो बनेको ड्रागन पनि स्थानीय कृषकले आफैं आएर लगाइदिएको उनले बताए । आँप, लिचीका बिरुवासमेत हुर्किइरहेका छन् ।
सधैं दाताहरुकै सहयोगमा चल्दै आएको संस्थामा बसिरहेका चेपाङ बालबालिकाले अबको केही वर्षपछि मौसमअनुसार फलसमेत केन्द्रमै बसेर खान पाउने सुबिधा थपिएको छ । गाई, बाख्रा र कुखुरापालन पनि सँगै रहेको हुँदा त्यहाँ उत्पादन भएका र हुन लागेका सबै कृषिउपज विशुद्ध प्रांगारिक छ । ‘यहाँको खेतीपातीका लागि आयातित मल प्रयोग गर्न परेको छैन,’ केन्द्र अध्यक्ष शर्माले भने—हालसम्म यहीं उत्पादन भएका मल पर्याप्त भएको छ । यहाँ बस्ने चेपाङ बालबालिकाले आफ्नो अध्ययन सकिएपछि गाउँ फर्किंदा पनि कृषि उत्पादन गर्न सक्षम होऊन् भन्ने लक्ष्यसाथ केन्द्र परिसरमै मौसमअनुसार खेतीपाती गर्ने प्रयास गरिएको उनको भनाइ छ ।
‘हामीसँग धेरै क्षेत्रफलको जमिन नभए पनि भए जति खाली जमिनमा कृषि उत्पादनलाई अभ्यासका रुपमा प्रयोग गर्दै आएका छौं,’ उनले भने—यसले हालसम्म सकारात्मक प्रभाव पारेको महसुस गराएको छ ।




















