हेटौँडा/ बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको सरकारको नेतृत्व गरिरहेका अवस्थामा धारा १६८ को उपधारा (४) अनुसार विश्वासको मत मागेका थिए।

मतदानका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसदहरू भने प्रदेशसभा बैठकमा सहभागी भएनन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्रको आन्तरिक विवाद अदालतसम्म पुगेकाले विवाद समाधान नभएसम्म सदनमा सहभागी नहुने विपक्षी दलहरूको अडान थियो।

प्रदेशसभामा नेकपाका २६, एमालेका २५ र राप्रपाका १२ सांसदमध्ये ७ जना मतदानमा सहभागी भएका थिए। एमालेबाट उपसभामुख रहेकी अप्सरा चापागाईंले मतदान गर्न नपाउने भएकाले मुख्यमन्त्री थापाले ५७ सांसदको समर्थन प्राप्त गरेको जनाइएको छ।

विपक्षी दलहरूको अनुपस्थितिबीच भएको मतदानबाट मुख्यमन्त्री थापाले प्रदेशसभाको विश्वास कायम राख्न सफल भएका छन्।