हेटौंडा/विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिको बैठकले भदौ २० गते प्रत्येक जिल्लामा मोर्चाको समन्वय समितिको बैठक बस्ने निर्णय गरेको छ । असोज १० गते काठमाडौंमा विशेष भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि मोर्चाले गरेको छ ।
शनिबार काठमाडौंमा रहेको आजपाको कार्यालयमा बसेको बैठकले बागमती प्रदेशका सबै जिल्लामा भदौ २० गते जिल्ला समन्वय समितिको बैठक बस्ने तय भएको छ । जसअनुसार काठमाडौं, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, चितवन र मकवानपुर (प्रलोपा नेपाल), ललितपुर, सिन्धुली, रामेछाप र दोलखा (जसपा नेपाल) र भक्तपुर, सिन्धुपाल्चोक र धादिङ (आजपा) ले नेतृत्व गर्ने तय भएको छ ।
बैठकले प्रदेशस्तरीय जनसंगठनका लागि जिम्मेवारीसमेत तोकेको छ । महिला मोर्चाका लागि लीला सिटौला (जसपा नेपाल), युवा तथा विद्यार्थीतर्फ शंकर पौड्याल (प्रलोपा नेपाल) र आईटी तथा मिडियातर्फ सुभाषप्रसाद साह र विकेश साह (आजपा) र बुद्धिजीवी मोर्चातर्फ सुरेन्द्र प्रधान (नेसस) लाई जिम्मेवारी तोकिएको छ । बैठकले भदौ २३ गते आयोजना हुने जेनजी प्रदर्शनलाई संयुक्तरुपमा प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ । अर्को बैठक भदौ २१ गते जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा बस्ने तय भएको छ । आजपा सहअध्यक्ष तिलक थापामगरको सभाध्यक्षतामा बसेको बैठकमा मोर्चाका भावी कार्यक्रमबारे विस्तृत छलफल गरिएको थियो । बैठकमा प्रगतिशील लोकतान्त्रिक पार्टी नेपाल प्रमुख संरक्षक तथा पूर्वमन्त्री जनार्दन शर्मा र आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहलगायत नेताहरुको उपस्थिति थियो ।











