हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडामा साइकल अनियन्त्रित भई पल्टिँदा दुई बालिका घाइते भएका छन्।
आइतबार दिउँसो करिब २:२५ बजे कमलडाँडाको ओरालोमा साइकल अनियन्त्रित भएर पल्टिँदा साइकल चालक १२ वर्षीया विशाखा थापा र साइकलमा सवार १३ वर्षीया आइषा तामाङ घाइते भएका हुन्।
दुर्घटनामा विशाखाको नाक, बायाँ कान र मुखमा चोट लागेको छ भने आइषाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। दुवैलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि दिउँसो ३ बजे चितवनका छुट्टाछुट्टै अस्पतालमा रिफर गरिएको छ।
विशाखालाई पुरानो मेडिकल कलेज र आइषालाई नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको हो। घटनास्थलमा वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी टोली खटिएको छ।











