अमेरिकाको चुनावी राजनीतिलाई लक्षित गर्दै टाइम्स अफ इन्डियाले रोचक शीर्षक दिएको छ– लोटस फाइट्स टु बी पोटस् ।

लोटस अर्थात् कमल/कमला । पोटस अर्थात् प्रेसिडेन्ट अफ द युनाइटेड स्टेट्स । हालका डेमोक्र्याट राष्ट्रपति जो बाइडेनले आगामी चुनावको दौडबाट खुट्टा झिकेसँगै एकैपल्ट उपराष्ट्रपति कमला ह्यारिसको नाम ह्वाइट हाउसकी आकांक्षीका रूपमा यति बेला विश्व चर्चामा छ ।

लोटस्, अर्थात् भारतीय मुलकी कमलालाई अर्का रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पकी प्रतिस्पर्धीका रुपमा सुरु चर्चासँग के अमेरिका प्रथम महिला राष्ट्रपतिलाई स्वागत गर्न आतुर भएको हो भनी अड्कलबाजीहरू सुरु भएका छन् ।

उसो त अमेरिकामै स्थापित भनाइ छ– रंगभेद कहीँ न कहीँ सुषुप्त रुपमा रहेको यो महाशक्तिले बरु कालाजातिका नेता छान्ला, तर महिला छान्न कठिन छ । नभन्दै अमेरिकाले बाराक ओबामा छान्यो, तर हिलारी क्लिन्टन छानेन ।

कमला ह्यारिसका लागि यी दुवै संयोग एकै साथ उपलब्ध छन् । उनी अश्वेत पनि हुन्, अनि महिला पनि । तै पनि यो लडाइँमा उनी आफ्नो दलभित्र अब्बल बन्दै मैदानमा खडा छिन् । डेमोक्रेटिक पार्टी उम्मेदवारको अन्तिम टुंगो लाग्न भने अझै केही दिन प्रतीक्षा गर्नुपर्ने छ ।

अगष्ट १९ तारिखमा हुने डेमोक्रेटिक पार्टीको नेसनल कन्भेन्सनबाट उम्मेदवार टुंगो लाग्ने छ । बाइडेनको दौड परित्यागपछि डेमोक्रेटिक पार्टीमा सम्भावित उम्मेदवारको रूपमा उपराष्ट्रपति कमला ह्यारिस अग्रस्थानमा देखिएकी छन् ।

यही कारणले अब अमेरिकी चुनाव पूरापूर रोचक बन्नेवाला देखिन्छ ।

राजनीतिमा कति बेला नियमितताहरू आकस्मिकता बन्छन् र आकस्मिकताहरू नियमितता, भन्नै सकिन्न । त्यसैले होला, राजनीतिलाई अनन्त: सम्भावनाहरूको खेल भनिएको । अमेरिकी राजनीतिले आइतबार साँझ त्यस्तै एक रोचक र नयाँ मोड लिएको हो ।

आगामी राष्ट्रपतीय निर्वाचनको मतदान आउन १०७ दिन बाँकी हुँदा राष्ट्रपति जो बाइडनले राष्ट्रपतीय निर्वाचन दौड परित्याग गरी दिए । र, यसले उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक उम्मेदवार हुन सक्ने सम्भावनाको एउटा नयाँ ढोका मात्र खोलिदिएन, महिला राष्ट्रपतिको सम्भावनाबारे बहस पनि सँगै अघि बढ्यो ।

बाइडेनले नै ह्यारिसलाई ‘इन्डोर्स’ गरेका छन् । बाइडेनको चुनावी अभियानका सम्पूर्ण संयन्त्र, यहाँसम्म कि चुनावी कोषलाई समेत ह्यारिस चुनावी अभियानमा रूपान्तरण गरिएको छ ।

सन् २०१६ मा अमेरिकाले यो अवसर गुमाएको थियो । त्यतिबेला डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिन्टन राष्ट्रपतीय निर्वाचन दौडमा थिइन् । लोकप्रियताको आधारमा उनले डोनाल्ड ट्रम्पलाई जितेकी पनि हुन् । तर, विशिष्ट निर्वाचन प्रणाली (निर्वाचक मण्डल प्रणाली) को कारण उनी राष्ट्रपतिमा निर्वाचित हुन भने सकिनन् ।

८ वर्षपछि खेल फेरि दोहोरिने सम्भावना देखिएको छ । रिपब्लिकन पार्टीले उनै डोनाल्ड ट्रम्पलाई उम्मेदवार बनाउने निश्चित भइसकेको छ ।

अब हुने छैन दुई वृद्धको ‘रिम्याच’

बाइडेनले नै ह्यारिसलाई ‘इन्डोर्स’ गरेका छन् । बाइडेनको चुनावी अभियानका सम्पूर्ण संयन्त्र, यहाँसम्म कि चुनावी कोषलाई समेत ह्यारिस चुनावी अभियानमा रूपान्तरण गरिएको छ ।

अमेरिकी मतदाता ‘दुई बुढाको रिम्याच’ हेर्न इच्छुुक थिएनन् । जो बाइडेन र डोनाल्ड ट्रम्प बीचको ‘म्याच’ सन् २०२० मै भइसकेको थियो । ठीक त्यही परिदृश्य दोहोरिने कुरा धेरैका लागि विरक्ति र पट्यारको विषय बनिरहेको थियो ।

८१ वर्षीय बाइडेन र ७८ वर्षीय ट्रम्पको पुनर्भिडन्त रोचक र रोमाञ्चक हुने आधार कमजोर थिए । अन्ततः बाइडेन आफैंले जनताको ‘हृदयको आवाज’ सुने । एक राजनेताको कर्तव्य पदमा बसेर जनताको सेवा गर्नु मात्र हैन, पदत्याग गरेर उनीहरूलाई खुशी दिनु पनि हो भन्ने प्रमाणित गरिदिए ।

बाइडेन अमेरिकी इतिहासका एक औसत राष्ट्रपति हुन् । उनी न त प्रथम राष्ट्रपति जर्ज वासिङ्गटन जस्ता ठूलो योद्धा थिए, न संस्थापक पितामध्येका अन्य राष्ट्रपति जेफर्सन, हेमिल्टन जस्ता बौद्धिक । न त अब्राहम लिंकन न रुजबेल्ट जस्ता ऐतिहासिक न केनेडी, बिल क्लिन्टन र बाराक ओमाबाजस्ता चमत्कारिक युवा ।

बाइडेनको छवि एक शालीन, भद्र र शान्त राष्ट्रपतिका रूपमा रह्यो । उनले त्यस्ता धेरै चिजलाई ट्रयाकमा ल्याए, जो त्यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा ‘डिरेल’ हुन खोजेका थिए ।

उम्मेदवारी दौडको परित्याग गर्न बाइडेनलाई पक्कै सजिलो थिएन । दुई कार्यकाल राष्ट्रपति अमेरिकाको स्थापित प्रचलन नै हो । बाइडेनलाई पनि दोस्रोपल्ट उठ्न पाउने कानुनी सुविधा थियो ।

स्वयं बाइडेनको पार्टी र समर्थकहरूले नै उनले उम्मेदवारी परित्याग गर्दिए हुन्थ्यो भन्ने अपेक्षा राख्थे । अपेक्षा मात्र हैन, त्यो एक हदसम्म दबाब बन्न थालेको थियो । तर, उम्मेदवारी परित्याग गर्न दबाब दिनेले उनलाई ‘नराम्रो र दुष्ट मान्छे’ सिद्ध गर्न खोजेका थिएनन् ।

उनीहरूको भनाइ यति मात्र थियो कि उमेर र स्वास्थ्यको कारण बाइडेन थप कार्यकाल प्रभावकारी राष्ट्रपति नहुन सक्दछन् । र, बाइडेन नै डेमोक्रेटिक उम्मेदवार हुने हो भने पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको विजयको सम्भावना बढ्ने छ ।

बाइडेनले यो सिद्ध गरे कि एक लोकतान्त्रिक राजनेताले आफ्ना अवसर र अधिकार मात्र हेरेर हुँदैन, आफ्ना समर्थकहरूको मनोभावना पनि बुझ्नपर्ने हुन्छ ।

चन्दादातासँग चुनावी प्रतिस्पर्धा

अब ‘रिम्याच’ को ‘प्रवृत्ति’ बदलिएको छ । चुनावी प्रतिस्पर्धा सन् २०२० को जस्तो हैन, सन् २०१६ को जस्तो हुने देखिएको छ । सन् २०१६ मा डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीच प्रतिस्पर्धा भएको थियो । यसपटक क्लिन्टनको ठाउँमा कमला ह्यारिस हुन सक्नेछिन् ।

क्लिन्टन र ह्यारिस बीचको भिन्नता यति हो कि क्लिन्टन ‘श्वेत’ र ह्यारिस ‘अश्वेत’ महिला हुन् । दुवैको दृष्टिकोण र व्यक्तित्वमा थुप्रै समानता छन् ।

बाइडेनको दौड परित्याग र ह्यारिसको प्रस्तावले डेमोक्रेटिक पार्टीका नेता कार्यकर्ता, समर्थक र मतदातामा उत्साह छाएको छ । सम्भवतः विपक्षी उम्मेदवार डोनाल्ड ट्रम्पले समेत थप दबाबको महसुस गरेका छन् ।

भनिन्छ– ट्रम्प आफैं कुनै बेला ह्यारिसको समर्थक थिए । सन् २०११ र २०१३ को क्यालिफोर्निया महान्यायधिवक्ताको प्रतिस्पर्धामा ट्रम्पले ह्यारिसलाई राम्रो रकम चन्दा सहयोग गरेका थिए ।

बाइडेनले आफ्नो नाम प्रस्ताव भएसँगै ह्यारिसले छोटो प्रतिक्रिया दिएकी थिइन्, ‘मतदान सुरु हुन १०७ दिन बाँकी छ । हामी मिल्छौं, हामी लड्छौं, हामी जित्छौं ।’

ह्यारिसको यस्तो प्रतिक्रियाले डेमोक्रेटिक समर्थकको उत्साहलाई ह्वात्तै माथि ल्याएको थियो ।

यो दौड सम्भवतः डोनाल्ड ट्रम्पका लागि पनि अन्तिम हो । उनले सन् २०१६ मा जस्तै यसपटक पनि महिला उम्मेदवारसँग भिड्नुपर्ने सम्भावना बढेको छ । विश्लेषकहरू ठान्दछन् कि यसले ट्रम्प आक्रमकता घटाउने छ ।

हिलारी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी हुन् । उनले चुनावताका परिवारवाद र शक्ति सम्भ्रान्तहरूको घेराभित्रकी पात्रको रूपमा चर्को आलोचना व्यहोरेकी थिइन् । ओबामा शासनकालमा उनी शक्तिशाली विदेशमन्त्रीका रूपमा परीक्षित पात्र थिइन् । अझ उनीमाथि मोनिका लेवेन्स्की काण्डमा पति बिलको बचाउ गरेको आरोप पनि थियो ।

तर, कमला ह्यारिसमाथि यस्ता कुनै आरोप छैनन् । उनी यस्ता सबै प्रकारका ‘ब्यागेज’मुक्त छन् ।

कमलाकी आमा भारतीय मूलकी तमिल महिला थिइन् र पिता जमैकाली अफ्रिकी । आप्रवासीहरूको देश भनेर चिनिने देशमा ह्यारिस बहुसाँस्कृतिकतावादी र समावेशी अमेरिकाको प्रतीक बन्न सक्नेछिन् ।

पहिला अश्वेत राष्ट्रपति बाराक ओबामाका पिता केन्याली अश्वेत भए पनि माता अमेरिकी श्वेत महिला नै थिइन् । ह्यारिस राष्ट्रपति निर्वाचित भएमा अमेरिकाको इतिहासले ओबामाकालीन सीमा पनि नाघेर अझ एक कदम अघि बढ्नेछ ।

उपराष्ट्रपति उम्मेदवार को ?

यो चुनावमा उपराष्ट्रपतिका लागि जोडा छनोट कमला ह्यारिसको अर्को चुनौती हो । श्वेत पुरुषमध्येबाट उपराष्ट्रपति उम्मेदवार छनौट हुने सम्भावना बढी छ, जसले समावेशिता र सन्तुलनको सन्देश दिनेछ ।

उता डोनाल्ड ट्रम्पले भने आफूभन्दा आधा कम उमेरका ३९ वर्षीय जेडी भान्सलाई उपराष्ट्रपति उम्मेदवार छनोट गरिसकेका छन् ।

लिङ्ग र वर्गको मात्र हैन, उमेरको बहस पनि ह्यारिसको अनुकूल हुन सक्दछ । अहिले उमेरमाथि पनि चर्को बहस भइरहेको छ र यो मुद्दाले पनि मतदाता हिस्सालाई प्रभावित गर्न सक्दछ । ७८ वर्षीय ट्रम्प सामु ५९ वर्षीया ह्यारिस युवा र ऊर्जावान नै मान्नुपर्छ । साथै, उनी परिपक्क उमेर समूहभित्र छिन् ।

ट्रम्पसँग साँच्चैको टक्कर

ट्रम्पसँगको चुनावी प्रतिस्पर्धामा बाइडेन निकै कमजोर र विचरा प्रतित भइरहेका थिए । यदि ह्यारिसलाई डेमोक्रेटिक पार्टीले अगाडि बढाएमा ट्रम्पले चुनावी बहसमा आफ्नै शैलीमा जवाफ पाउनेछन् । डेमोक्रेटिक पार्टीविरुद्ध आक्रामक देखिएका ट्रम्पविरुद्ध अहिलेसम्म ह्यारिस अग्रस्थानमा रहेर प्रतिकार गर्दै आएकी छन् ।

विपक्षीहरूको प्रहार सामना गर्न माहिर खासगरी अश्वेत मतदाता र महिलाबीच लोकप्रिय छन् ।

जुलाई १८ मा नर्थ क्यारोलिनामा भएको सार्वजनिक सभामा कमला ह्यारिसले ट्रम्पको एजेन्डालाई एकपछि अर्को गर्दै आक्रमण गरेकी थिइन् । त्यसपछि चर्चा के भयो भने कमला ह्यारिस डेमोक्रेटिक पार्टीमा ट्रम्पलाई आफ्नै शैलीमा जवाफ दिन सक्ने एक मात्र नेता हुन् ।

करिब २५० वर्ष लामो लोकतान्त्रिक इतिहासमा एकजना पनि महिला राष्ट्रपति निर्वाचित नहुनु अमेरिकी लोकतन्त्रको कमजोर पक्ष हो ।

अहिलेसम्म चुनावी अभियानमा ट्रम्पले जो बाइडेनको व्यक्तित्वविरुद्ध सीधा प्रश्न र प्रहार केन्द्रित गर्दै आएका थिए । तर अब ट्रम्पसँग यो सुविधा रहनेछैन । यसले ट्रम्पको नेतृत्वमा भइरहेको एकतर्फी लडाइँलाई वास्तवमै द्विपक्षीय र रोचक बनाउनेछ ।

अन्तर्राष्ट्रिय मामिलामा विशेषज्ञता रहेकी ह्यारिस अमेरिकाको आन्तरिक राजनीतिमा मात्र पकड राख्दिनन्, विदेश मामिलामा पनि प्रखर छिन् । इजरायल वा युक्रेनका बारेमा कमलाको अडान बाइडेनको भन्दा बढी स्पष्ट छ । उनी यहूदी राष्ट्र इजरायलको कट्टर समर्थक हुन् । अन्तर्राष्ट्रिय मामिलामा स्पष्ट सोचका कारण उनले इजरायलका कट्टर समर्थक अमेरिकी जनताको मतलाई आकर्षित गर्न सक्छिन् ।

त्यसो त, ह्यारिसकी पति डगलस एमहफ एक यहूदी हुन् । उनीहरूले सन् २०१४ मा विवाह गरेका थिए । यसरी उनले यहूदी मतको फाइदा लिन सक्छिन् ।

ट्रम्पभन्दा १९ वर्ष कान्छी ह्यारिस डेमोक्रेटिक पार्टीमा भने बाइडेनपछि परिपक्व, जिम्मेवार मानिन्छिन् । यो अर्थमा उनले तुलनात्मक रूपमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्छिन् भन्न सकिन्छ । बन्दुक, हिंसा, गर्भपतन जस्ता विषयमा बोलेर युवाहरुमाझ निकै लोकप्रिय रहँदै आएकी छन् ।

गर्भपतनमा ह्यारिस अडान

अमेरिकामा पछिल्लो पाँच दशकदेखि गर्भपतनको बहस चलिरहेको छ । सन् १९७२ मा अमेरिकी सर्वोच्च अदालतले एक मुद्दामा १२ हप्ताकी गर्भवती महिलालाई गर्भपतन गर्न अनुमति दिएको थियो । उक्त फैसलाले देशको जनमत दुई पक्षमा ध्रुवीकृत बन्यो ।

एकाथरीको विश्वास र बुझाइ छ– गर्भमा बच्चाको ज्यान लिनु पाप हो । ट्रम्पको रिपब्लिकन पार्टीले यही मतलाई समर्थन गर्छ ।

अर्काथरी, महिलालाई आफ्नो शरीरमा पूर्ण अधिकार रहेको मत राख्छन् । यदि तिनीहरू बच्चा जन्माउन चाहँदैनन् भने गर्भावस्थाको पहिलो १२ हप्तामा गर्भपात गर्ने अधिकार छ । यो मतको पक्षमा छ डेमोक्रेटिक पार्टी । ह्यारिस यसको पक्षमा स्पष्ट अडानमा छिन् ।

कमला ह्यारिस मार्च २०२४ मा गर्भपतन क्लिनिक पुगिन् । अमेरिकी इतिहासमा उपराष्ट्रपतिको आधिकारिक रूपमा गर्भपतन केन्द्र गएको यो पहिलो पटक हो । न्यूयोर्क टाइम्सका अनुसार कमलाले यसो गरेर आफू अधिकारको लडाइँमा अमेरिकी महिलाको साथमा रहेको बलियो सन्देश दिइन् । महिला मत तान्न उनका लागि यही अडान र गतिविधि काफी देखिन्छ ।

‘आप्रवासी एलियन होइनन्’

अमेरिका आफूलाई आप्रवासीहरूको देशको रूपमा चिनाउन चाहन्छ । हो पनि यस्तै ।

जुलाई १३ मा गोली लागेपछि ट्रम्पले जता संकेत गरे, त्यो थियो– डेमोक्रेटिक पार्टी सत्तामा हुँदा अवैध रूपमा अमेरिका गएका मानिसहरूको संख्या ।

जुलाई १९ मा राष्ट्रपतिको उम्मेदवार बनेपछि ट्रम्पले आफ्नो पहिलो भाषणमा पनि अवैध आप्रवासीको मुद्दा उठाए । ट्रम्प आप्रवासीलाई एलियनको संज्ञा दिने गर्छन् ।

सन् २०२० मा ट्रम्पले सत्ता छाडे र बाइडेन आए । यो अवधिमा अमेरिका प्रवेश गर्ने अवैध आप्रवासीहरूको संख्यामा कीर्तिमानी वृद्धि भएको विषय रिपब्लिकन पार्टीले जोडतोडका साथ उठाइरहेको छ ।

आप्रवासन मुद्दामा ह्यारिस असफल भएको विरोधीहरूको आरोप छ । तर उनी यो समस्यालाई जराबाटै समाधान खोज्नुपर्ने मत राख्छिन् । उनले अवैध आप्रवासीलाई राजनीतिक मुद्दाका रूपमा मात्रै हेर्न नसकिने मत राख्दै आएकी छन् ।

धनी र श्वेत मतको प्रतिकूलता

पहिले कोरोना महाव्याधि र पछि रुस–युक्रेन युद्धका कारण अमेरिकामा मुद्रास्फीति रेकर्ड ८ प्रतिशत पुगेको थियो । अत्यावश्यक वस्तु ५७ प्रतिशत महँगो भएको ट्रम्पको दाबी छ । तर पनि कर नबढाइ अमेरिकाको ऋणको बोझ घटाउने ट्रम्प पक्ष दाबी गर्छन् ।

नेतृत्वमा ट्रम्प होस् वा बाइडेन, अमेरिका सरकार ऋणमै देश चलाइरहेका छन् । ह्यारिस सरकारले धनीलाई कर बढाउनुपर्ने र साना व्यवसायी कोष र विद्यार्थी ऋण माफ गर्नुपर्ने पक्षमा मत राख्छिन् ।

गोराहरू श्रेष्ठ हुन्छन् भन्ने मत राख्ने ट्रम्पसँग सम्भावित चुनावी स्पर्धाको तयारी गरिरहेकी ह्यारिस रंगभेदलाई अमेरिकाको ठूलो समस्या बताउँछिन् । उनी निडर भएर रंगभेदी प्रहरीहरू विरुद्ध कारबाहीको पक्षमा आवाज उठाउँछिन् ।

इतिहास रच्ने अवसर

करिब २५० वर्ष लामो लोकतान्त्रिक इतिहासमा एकजना पनि महिला राष्ट्रपति निर्वाचित नहुनु अमेरिकी लोकतन्त्रको कमजोर पक्ष हो । बरु बेलायतमा तीन महिला प्रधानमन्त्री भइसकेका छन् ।

स्वतन्त्र हुनुअघि अमेरिका बेलायतको उपनिवेश थियो । अमेरिकीहरू बेलायतलाई ‘रुढीवादी राजतन्त्रात्मक देश’ को संज्ञा दिएर अमेरिकालाई बढी उदार र प्रगतिशील राज्य मान्थे ।

महिला उम्मेदवारले महिला भोट बढी प्राप्त गर्ने गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छन । सन् २०१६ मा हिलारी क्लिन्टनले ५४ प्रतिशत महिला भोट पाएकी थिइन् । यसपटक पनि महिला, अश्वेत, हिस्पानिक र एशियन मतदाता निर्णायक हुनसक्ने छन् ।

डेमोक्रेटिक पार्टीभित्रको प्रक्रिया पूर्ण नहुन्जेल ह्यारिसका लागि चुनावी अभियान अघि बढाउन थोरै अप्ठ्यारो हुनेछ । तर, बाइडेन समर्थक डेलिगेट्सहरूको ठूलो संख्याले ह्यारिसलाई समर्थन गरिसकेको छ । साथै, क्यालिफोर्निया पार्टीले उनलाई प्राइमरी उम्मेदवारको रूपमा स्वीकार गरिसकेको छ । अहिलेसम्म उनलाई चुनौती दिनेगरी पार्टीभित्र अर्को कुनै नेताले उम्मेदवारी घोषणा गरेको छैन ।

आइतबार साँझ बाइडेनको घोषणा र प्रस्तावपछि ह्यारिसले निरन्तर १० घन्टा देशभरिका पार्टी नेताहरूलाई समर्थन र सहयोगको लागि फोन गरेको उनको सचिवालयले बताएको छ । यसले यो प्रतिस्पर्धाका लागि ह्यारिस कति उत्साहित र आतुर छिन् भन्ने देखाउँछ ।

तर, के अमेरिका प्रथम महिला राष्ट्रपतिलाई स्वागत गर्न उत्तिकै आतुर छ ? यो प्रश्नको उत्तर भने अझै शंकाको घेराभित्र छ ।

ह्यारिसले ट्रम्पलाई नजित्नुपर्ने कुनै कारण छैन । प्रथम महिला राष्ट्रपति प्राप्त गर्ने यति राम्रो अवसर अमेरिकाले फेरि सजिलै नपाउन सक्दछ । यदि ह्यारिस पराजित भइन् भने त्यसको अनेकौंमध्ये एउटा बलियो अर्थ हुनेछ– अमेरिकामा ‘श्वेत पितृसत्ता’ अझै बलियो छ ।