महेन्द्रनगर । अत्यधिक गर्मी बढेपछि कञ्चनपुरमा स्थानीय पालिकाले विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् । सूचना जारी गर्दै यहाँको शुक्लाफाँटा नगरपालिकाले जेठ १२ र १३ गते गरी दुई दिन नगरक्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले हाल बढिरहेको अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न सक्ने र विद्यालय सञ्चालनमा समेत कठिनाइ उत्पन्न हुनसक्ने परिस्थितिलाई दृष्टिगत् गरी दुई दिन बिदा दिने निर्णय गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरक्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत् विद्यालय तीन दिनसम्मका लागि बिदा दिएको नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले जानकारी दिए ।
यहाँको भीमदत्त नगरपालिकाले पनि सूचना जारी गर्दै तीन दिनसम्मका लागि विद्यालय बन्द गरेको छ । नौं स्थानीय तह रहेको कञ्चनपुरमा संस्थागत् ३ सय ४९ र सामुदायिक २ सय ६० विद्यालय छन् । केही दिनयताको गर्मीका कारण कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ ।
जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु) सम्बन्धि विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको थियो । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भुभागका केही स्थानमा अधिकतम् तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने तथा थोरै स्थानमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी भइ अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नहुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको थियो ।




















