हेटौंडा । मकवानपुरको तत्कालीन नामटार (हाल कैलाश गाउँपालिका—९) मा निर्माण गरिएको नेपालको पहिलो ग्राभिटी रोपवे लामो समयदेखि बन्द अवस्थामा छ । करोडौं सरकारी लगानीमा निर्माण गरिएको संरचना मर्मत तथा व्यवस्थापन अभावका कारण प्रयोगविहीन बनेको हो ।

उक्त क्षेत्रमा सडक पहुँच भए पनि बर्खायाममा सडक हिलो र चिप्लो हुने भएकाले सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुने गरेको छ । वर्षायाममा यातायात अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामी ओसारपसार तथा कृषि उत्पादन बजारसम्म पु¥याउन समस्या हुने गरेको छ ।

रोपवे सञ्चालनमा हुँदा माथिल्लो बस्तीबाट सामान तल ल्याउन र आवश्यक सामग्री माथि लैजान सहज हुने गरेको थियो । हाल रोपवे बन्द भएपछि पुरानै परम्परागत ढुवानी प्रणालीमा निर्भर हुनुपरेको छ ।

रोपवेको तार चुडिँदा स्थानीय समस्यामा परेका छन् । बिनाविद्युत् र इन्धनबाट चल्ने ग्राभिटी रोपवे २०८१ भदौ १४ देखि बन्द छ । रोपवेको तार परिवर्तन गरेर मर्मत गर्न नसक्दा स्थानीयले उत्पादन गरेका कृषिजन्य वस्तु बजारसम्म पु¥याउन र आवश्यक सामान बजारबाट गाउँमा लैजान समस्या भएको घैराङडाँडाकी ठूलीमाया रुम्बाले बताउनुभयो । रोपवेको तार मर्मत गर्न करिब ७ लाख लाग्ने अनुमान गरिएको छ । तर, हालसम्म कार्यालयहरुले चासो नदिएको स्थानीयको गुनासो छ ।

तरकारी उत्पादन र बिक्रीबाट स्थानीय किसानले वार्षिक २ करोड भन्दा बढी आम्दानी गर्ने कैलाश गाउँपालिका—९ का अध्यक्ष भुवनसिंह घलानले बताउनुभयो । तर, रोपवेको तार छिनेपछि कसले मर्मत गर्ने भन्नेबारे अन्यौल छ । उपभोक्ता समितिले रोपवेमा सामान ढुवानीबापत भाडा उठाउन ठेक्का दिएको ठेकेदारले भाडाको पैसा नदिएपछि समस्या भएको वडा अध्यक्ष घलानको दाबी छ ।

घैराङका स्थानीय पूर्णसिंह गोलेले तार छिनेसँगै रोपवेमा रहेको दुई वटा बकेटमध्ये एउटा बकेट पूर्ण क्षति भएको बताउनुभयो । रोपवे मर्मत गर्नेबारे उपभोक्ता समितिको एकमत नभएपछि समस्या भएको उहाँको कथन छ । रोपवे बन्द हुँदा समस्या भएको कैलाशका सुन्दर रानामगरको पनि गुनासो छ ।

घैराङडाँडाबाट मात्र एक मिनेट ५५ सेकेन्डमा नामटार कप्चेरी स्टेसनमा सामान ढुवानी हुने गर्छ । दुई घण्टा लाग्ने बाटोमा रोपवेले दुई मिनेटमै सामान ल्याइदिने र भाडा पनि निकै सस्तो थियो । सडकसञ्जालले नछोएको ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गर्दै मकवानपुरको बिकट गाविसमा गुरुत्वाकर्षण शक्तिबाट चल्ने रोपवे चलाइएको थियोे । सुरुमा सबैले अचम्म मानेका थिए, रोपवे कसरी चल्छ भनेर ।

गुरुत्वाकर्षण शक्तिबाट चल्ने रोपवे मकवानपुरको नामटारमा पहिलोपटक निर्माण गरिएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले बिकटका बासिन्दाको आयआर्जनमा टेवा पु¥याउन र तरकारीलगायत खाद्यान्न र निर्माण सामग्रीलाई सहजसँग गन्तव्यमा पु¥याउन ग्राभिटी रोपवे निर्माण गरेको थियो । २०७१ भदौबाट सञ्चालित रोपवेले नामटारस्थित बिकट गाउँका बासिन्दाको जीवनस्तर फेर्न मद्धत पु¥याएको छ ।

रोपवेले नामटार—२ कप्सेरी (तल्लो स्टेसन) र ५ नम्बर वडाको घैराङ (माथिल्लो स्टेसन) लाई जोडेको छ । रोपवे नहुँदा भिरालो पाखो चढेर सर्वसाधारण ३ घण्टामा घैराङ पुग्थे । उत्पादित तरकारी, निर्माण सामग्रीलगायत दैनिक जीवनमा आवश्यक पर्ने वस्तुको भिरबाट ओसारपसार गर्न सर्वसाधारणले निकै पसिना चुहाए । तर, नामटारमा बनेको ग्राभिटी रोपवेले बिगतका दुःख सबै भुलाएको थियो ।

घैराङमा उत्पादित तरकारी र निर्माण सामग्री नामटार बजार हुँदै हेटौंडासम्म ल्याउन र बजारबाट घैराङ पु¥याउन रोपवेले ठूलो भूमिका निभाएको छ । ‘रोपवे बनेपछि २ मिनेटमा सामग्री ओसारपसार गर्न सकिन्छ । पहिला ३ घण्टा लगाएर ज्यालामा सामान घैराङ पु¥याउने गरिएको थियो,’ स्थानीय श्यामबहादुर गोले भन्नुहुन्छ ।

रोपवे नबन्दा ज्यालामा प्रतिकेजी ६ रुपियाँ तिरेर सामान ओसारपसार गर्नुपर्ने बाध्यता थियो । रोपवेबाट भने प्रतिकेजी २ रुपियाँ तिर्नुपर्छ । रोपवे बनेपछि सर्वसाधारणको समयसँगै रकम बचत भएको छ । रोपवेमा घैराङबाट प्रायः तरकारी ओसार्ने गरिन्छ भने कप्सेरीबाट निर्माण सामग्री । रोपवे बनेपछि बिकट गाउँको विकास निर्माणमा सहजता आएको छ ।

घैराङमा कुनै भौतिक संरचना निर्माण गर्नुपर्दा रोपवेले सामान पु¥याउँछ । पहिला ज्यालादारीमा काम गर्ने मान्छे हुँदैनथे । झन्झटिलोका कारण विकास निर्माण प्रभावित थियो । विद्यालय, खानेपानी र शौचालय निर्माणका लागि रोपवेबाट निर्माण सामग्री ओसारिने गरिएको थियो ।

रोपवेले सुबिधामात्र दिएको छैन, अत्यधिक गाँजाखेती हुने नामटारमा तरकारी खेतीले व्यावसायिकता पाएको छ । ओसारपसार सहज भएपछि तरकारी खेतीतर्फ स्थानीय आकर्षित भएका थिए । आंशिक तरकारी खेती गर्ने घैराङबासी हाल व्यावसायिकरुपमा तरकारी खेती गरिरहेका छन् । घैराङबाट वार्षिक लाखौं रुपियाँको तरकारी हेटौंडा भित्रने गरेको स्थानीयको भनाइ छ । घैराङबासीले तरकारीसँगै मकै र तोरी लगाउँछन् । तरकारीको समय भदौ, असोज र कात्तिकमा रोपवे निरन्तर सञ्चालन हुने गरेको थियो । तीन महिनामा रोपवेले करिब ३ लाख रुपियाँ कमाउने गरेको थियो । घैराङमा किराना पसल सञ्चालन भएका छन् । सामान ओसार्न रोपवे आएपछि किराना पसल गर्ने स्थानीय बढेका छन् । आयआर्जनतर्फ उन्मुख घैराङबासीलाई रोपवे बरदान बनेको थियो ।

स्थानीय उपभोक्ताको चार लाखसहित करिब २५ लाख रुपियाँमा एकहजार २ सय १४ मिटर लम्बाइको रोपवे निर्माण गरिएको हो । घैराङबाट एकपटकमा जति सामान तल्लो क्षेत्रमा ल्याइने हो, त्यसको एक तिहाइ एकपटकमा माथि लैजान मिल्ने गरी त्यसको प्राविधिक संरचना निर्माण गरिएको छ । माथिल्लो स्टेसनबाट ९० केजी भार क्षमताको सामान झार्न सकिन्छ भने तल्लो स्टेसनमा ३० केजीसम्मको सामग्री । त्यस क्षेत्रका कम्तिमा दुई हजार दुईसय घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । सस्पेन्सन ब्रिज डिभिजनद्वारा रोपवे निर्माण गरिएको हो । यसको सञ्चालनका लागि कुनै प्रकारको विद्युतीय ऊर्जा र इन्धन प्रयोग गर्नपर्दैन ।