हेटौंडा/भीमफेदी गाउँपालिकाको भैंसे बाघझोरा खोलामा बाढी आएका कारण गर्भवतीलाई हेटौंडा अस्पताल ल्याउन नसकिएपछि लोडरको सहयोगमा खोला तारेर ल्याइयो । सुत्केरी व्यथाले महिला छट्पटाउन थालेपछि लोडरको सहयोगले खोला तारिएको थियो ।
बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिका—१ स्थित उक्त बाघझोरा खोलामा अब अण्डरपास निर्माण प्रक्रिया अघि बढाइएको छ । परियोजना कार्यान्वयन तयारीस्वरुप भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत जिम्मेवार अधिकारीहरु तथा प्राविधिक टोलीले निर्माणस्थलको स्थलगत अध्ययन तथा निरीक्षण गरेका छन् ।
बाघझोरा त्रिभुवन राजपथ सडकखण्डमा पर्ने एक संवेदनशील भिर तथा खोला क्षेत्र हो । यस स्थान हेटौंडाबाट भैंसे हुँदै काठमाडौं वा अन्य स्थानतर्फ जाने सडकमार्गमा पर्दछ । उक्त स्थान सडकको निकै अप्ठ्यारो र भिरयुक्त भागमा छ । भौगोलिक बनावटका कारण वर्षायाममा त्यहाँ सुक्खा पहिरो खस्ने र बाढी वा लेदो बग्ने गर्दा सडक पूर्णरुपमा अवरुद्ध हुने गर्दछ । यात्रा गर्दा पहिरो वा बाढीको उच्च जोखिम हुने भएकाले वर्षाको समयमा उक्त सडकखण्डमा यात्रा गर्न कठिनाइ हुन्छ ।
वर्षायाममा बाघझोरा क्षेत्रमा हुने सडक अवरोध तथा सवारी जामको समस्या समाधान गर्ने उद्धेश्यसहित अण्डरपास निर्माण योजना अघि बढाइएको जनाइएको छ । परियोजनाका लागि १० करोड बजेट विनियोजन गरिएको छ भने अब छिट्टै टेण्डर प्रक्रिया अगाडि बढाइने तयारी गरिएको सम्बन्धित पक्षले जनाएको छ ।
मकवानपुर क्षेत्र नम्बर—२ का निवर्तमान सांसद महेशकुमार बर्तौलाले अण्डरपास निर्माण सम्पन्न भएपछि सामान्य वर्षाको समयमा समेत घण्टौंसम्म हुने सवारी जाम र यात्रुले भोग्दै आएको सडक सुरक्षासम्बन्धी चुनौती अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नभयो—बाघझोरा क्षेत्रमा वर्षायाममा पटकपटक सडक अवरुद्ध हुँदा मकवानपुरसहित यस मार्ग प्रयोग गर्ने हजारौं यात्रुले सास्ती भोग्दै आएका छन् । अण्डरपास निर्माणपछि हेटौंडा—काठमाडौं यात्रा अझ सहज, भरपर्दो र सुरक्षित बन्नेछ । उहाँका अनुसार यस योजनाले सडक अवरोध न्यूनीकरण गर्नका साथै जनजीवन, यातायात व्यवस्थापन तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
निवर्तमान सांसद बर्तौलाले योजनालाई अघि बढाउन प्रभावकारी समन्वय र सक्रिय पहल गर्ने मन्त्रालयअन्तर्गत अधिकारीहरु, प्राविधिक टोली तथा सम्बन्धित निकायप्रति धन्यबाद व्यक्त गर्नुभएको छ । ‘जनताको अपेक्षाअनुसार निर्माण कार्य बिनाअवरोध छिट्टै प्रारम्भ भइ समयमै सम्पन्न हुनेछ भन्ने विश्वास लिएको छु,’ उहाँले भन्नुभयो ।
हेटौंडा मुख्य बजार क्षेत्रबाट करिब ९ किलोमिटर उत्तरमा रहेको बाघझोरामा आउने बाढीले वर्षामा दैनिकजसो सडक अवरुद्ध हुँदा त्रिभुवन राजपथ र हेटौंडा—कुलेखानी—काठमाडौं सडकबाट ओहोरदोहोर गर्ने यात्रु सास्ती भोग्न बाध्य हुन्छन् । डिभिजन सडक कार्यालय हेटौंडाले बाघझोरामा सडक स्ल्याब गरेपछि वर्षामा अवरोध नहुने अपेक्षा गरिए पनि त्यसो हुन सकेन । वर्षासँगै आउने सानाठूला बाढीले ५÷६ घण्टा सडक अवरुद्ध हुन पुग्छन् ।
डिभिजन सडक कार्यालयले करिब २० लाख खर्च गरेर स्ल्याब ढलान गरे पनि पानी पर्नेबित्तिकै बाटो बन्द हुने समस्या हट्न सकेन । उक्त बाटो हुँदै दैनिक करिब एक हजार बढी सवारीसाधन ओहोरदोहोर गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । स्थानीयले वर्षौंदेखि बाघझोरमा पक्कीपुल निर्माणको माग गरे पनि सम्बन्धित निकायले सुनुवाइ गरेको छैन । जिल्ला समन्वय समिति र गाउँपालिका डिभिजन सडक कार्यालय हेटौंडाको कार्यक्षेत्र भन्दै पन्छिने गरेका छन् ।
पक्कीपुल निर्माण नभएसम्म वर्षामा नियमित सवारी सञ्चालनमा आउन सक्ने अवस्था नरहेको स्थानीयको भनाइ छ । बाघझोरा किनारमा बस्दै आएका स्थानीय बाढी आउनेबित्तिकै रातभर निदाउन सक्दैनन् । खोला किनारमा रहेका एक दर्जन परिवार राति पानी परेपछि जाग्राम बस्ने गरेका छन् । हेटौंडा सिमेन्ट उद्योगले ओखरे खानी सञ्चालनमा ल्याएपछि २०३६ सालसम्म खोल्साको रुपमा रहेको बाघझोराले विकराल रुप लिन थालेको थियो । सामान्य वर्षाका कारण गिटी, बालुवा र भलसहित पहिरो खस्दा सडक पूर्णरुपमा बन्द हुने गरेको छ ।
वर्षाका कारण नारायणगढ—मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा अधिकांश सवारीसाधन यही बाटो हुँदै काठमाडौं आवतजावत गर्ने गर्दछन् । तर, बाघझोराको अवरोधले यात्रु तथा सवारीसाधनले सास्ती खेप्ने गरेका छन् । स्तरोन्नतिमा ढिलाइसँगै एसियन हाइवेको नारायणगढ—मुग्लिन सडकखण्ड खतरामा परेको बेला तराइलाई राजधानी जोड्ने उक्त खण्ड जहिले पनि सरकारी ओझेलमा पर्दै आएको छ ।
निवर्तमान सांसद बर्तौलाले बाघझोरा खोलाले निम्ताइरहने बारम्बारको अवरोधको दीर्घकालीन समस्या समाधान गर्न ओभरपास वा अण्डरपास के उपयुक्त हो, सोको तत्काल अध्ययन गरी कार्य प्रक्रिया अगाडि बढाउन तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशबकमार शर्मालाई भेटी ज्ञापनपत्र बुझाउँदै बाघझोरा खोलाले निम्त्याइरहने सडक अवरोधको दीर्घकालीन समाधान तत्काल खोज्न आग्रह गर्नुभएको थियो ।
त्रिभुवन राजपथ संघीय राजधानी काठमाडौंबाट बागमती प्रदेशको राजधानी हेटांैडा जोड्नका लागिमात्र नभइ सिंगो देशका विभिन्न स्थानमा आवतजावत गर्ने महत्वपूर्ण सडक हो । ‘बाघझोरा खोलाको समस्या केबल मकवानपुरबासीका लागिमात्र नभइ उक्त सडक भएर देशका विभिन्न भागका लागि यात्रा गर्ने सम्पूर्ण यात्रुको साझा समस्या हो,’ बर्तौलाले भन्नुभयो—थोरैमात्र वर्षा हुनेबित्तिकै पनि बाघझोरा खोलामा आउने खहरे बाढीले घण्टौं सडक अवरुद्ध हुने गरेको छ । गत वर्षामा पनि विगतझैं बाघझोरामा आएको खहरे बाढीले गर्दा घण्टौं सडक अवरुद्ध भइ सयौं सवारीसाधनका हजारौं यात्रुहरुले सडकमै रात बिताउनुपर्ने अवस्था सिर्जना भएको थियो । त्यसैले बाघझोरा खहरेले निम्त्याइरहने बारम्बारको समस्याको दीर्घकालीन समाधानका लागि तत्काल प्राविधिक अध्ययन गरी आवश्यक संरचना निर्माण गर्न उहाँले विशेष आग्रह गर्नुभएको हो ।

















