हेटौंडा/देशको समग्र कुल गार्हस्थ उत्पादनको अनुमानभन्दा दुई प्रदेशको आर्थिक वृद्धिदर बढी रहने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷०८३ को प्रदेशगत् कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय अनुमान (३.८५ प्रतिशत्) भन्दा बढी हुने देखिएको छ ।

बागमती प्रदेशको कुल गार्हस्थ उत्पादनमा सबभन्दा धेरै योगदान थोक तथा खुद्रा व्यापारको २१.७ प्रतिशत् र सबभन्दा न्यून पानी आपूर्ति तथा फोहोर व्यवस्थापनको ०.३ प्रतिशत् रहने अनुमान छ । औद्योगिक वर्गीकरणअनुसार कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबभन्दा धेरै विद्यत् तथा ग्यासको २२.८ प्रतिशत् र सबभन्दा थोरै सार्वजनिक प्रशासन तथा रक्षा ०.६१ प्रतिशत् हुने अनुमान छ ।

स्थिर मूल्यमा मापन गरिएको उपभोक्ताको मूल्यको प्रादेशिक कुल गार्हस्थ उत्पादनको सबभन्दा उच्च वार्षिक वृद्धिदर बागमती प्रदेशको ५.४० प्रतिशत् रहने अनुमान छ । सबभन्दा न्यून वार्षिक वृद्धिदर मधेश प्रदेश १.३१ प्रतिशत् प्रारम्भिक अनुमान छ । स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको राष्ट्रिय कुल गार्हस्थ उत्पादन वार्षिक वृद्धिदर ३.८५ प्रतिशत् हुने प्रारम्भिक अनुमान गरिएकोमा बागमतीको राष्ट्रिय वार्षिक वृद्धिदरभन्दा बढी र बाँकी प्रदेशको राष्ट्रिय वार्षिक वृद्धिदर भन्दा कम हुने प्रारम्भिक अनुमान छ । जसअनुसार सुदूरपश्चिम प्रदेशको ३.२८ प्रतिशत्, कोशी प्रदेशको ३.१३ प्रतिशत्, कर्णाली प्रदेशको २.९४ प्रतिशत् र लुम्बिनी प्रदेशको २.८७ प्रतिशत् आर्थिक वृद्धिदर छ ।

आर्थिक वृद्धिका आधारमा कमजोर देखिएको मधेश प्रदेश राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यका आधारमा भने चौथो स्थानमा छ । यस आधारमा पनि बागमती प्रदेश पहिलो स्थानमा छ । चालु आवमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्य ६६ खर्ब हुने अनुमान गरिएकोमा बागमती प्रदेशको २४ खर्ब २३ अर्ब (३६.७ प्रतिशत्), कोशी प्रदेशको १० खर्ब ४३ अर्ब (१५.८ प्रतिशत्), लुम्बिनी प्रदेशको नौं खर्ब ३७ अर्ब (१४.२ प्रतिशत्), मधेश प्रदेशको आठ खर्ब ६३ अर्ब (१३.१ प्रतिशत्), गण्डकी प्रदेशको पाँच खर्ब ९३ अर्ब (९.० प्रतिशत्), सुदूरपश्चिम प्रदेशको चार खर्ब ६४ अर्ब (७.० प्रतिशत्) र कर्णाली प्रदेशको दुई खर्ब ७७ अर्ब (४.२ प्रतिशत्) रहने प्रारम्भिक अनुमान छ ।

आव २०८१÷०८२ र आव २०८२÷०८३ दुवैमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन सबभन्दा धेरै बागमती प्रदेशको र सबभन्दा कम मधेश प्रदेशको हुने अनुमान छ । आव २०८२÷०८३ मा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन अमेरिकी डलरमा बागमती प्रदेशको २ हजार ६ सय ४४, गण्डकी प्रदेशको १ हजार ६ सय ५१, कोशी प्रदेशको १ हजार ४ सय १०, लुम्बिनी प्रदेशको १ हजार २ सय ८, सुदूरपश्चिम प्रदेशको १ हजार १ सय ७०, कर्णाली प्रदेशको १ हजार १ सय ८ र मधेश प्रदेशको ९ सय ३४ हुने प्रारम्भिक अनुमान गरिएको छ ।

चालु आवमा राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन अमेरिकी डलरमा १ हजार ५ सय १३ हुने प्रारम्भिक अनुमान छ । यस हिसाबले बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन पनि राष्ट्रिय औसतभन्दा कम रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

आव २०८२/०८३ मा कोशी प्रदेशको कुल गार्हस्थ उत्पादनमा सबभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्यको (३२.५ प्रतिशत्) रहने र सबभन्दा न्यून योगदान प्रशासनिक सहयोगी सेवा (०.३ प्रतिशत्) रहने अनुमान छ । औद्योगिक वर्गीकरणअनुसार आव २०८२÷०८३ मा कोशीमा कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबभन्दा धेरै विद्युत् तथा ग्यासको (२३.७६ प्रतिशत्) र सबभन्दा थोरै पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापनको (०.३९ प्रतिशत्) हुने प्रारम्भिक अनुमान गरिएको छ ।

चालु आवमा मधेश प्रदेशको कुल गार्हस्थ उत्पादनमा सबभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्यको ३४.९७ प्रतिशत् र सबभन्दा न्यून खानी तथा उत्खनन् ०.१४ प्रतिशत् रहने अनुमान छ । औद्योगिक वर्गीकरणअनुसार चालु आवका लागि कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबभन्दा धेरै विद्युत् तथा ग्यासको १०.९१ प्रतिशत् र सबभन्दा थोरै कृषिको १.२६ प्रतिशत् हुने प्रारम्भिक अनुमान छ ।

गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादनमा सबभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्यको २५.७ प्रतिशत् र सबभन्दा न्यून प्रशासनिक तथा सहयोगी सेवा ०.३ प्रतिशत् रहने प्रारम्भिक अनुमान छ । औद्योगिक वर्गीकरणअनुसार कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबभन्दा धेरै विद्युत् तथा ग्यासको २३.९ प्रतिशत् र सबभन्दा थोरै सार्वजनिक प्रशासन तथा रक्षाको ०.६५ प्रतिशत् हुने अनुमान छ । लुम्बिनी प्रदेशको कुल गार्हस्थ उत्पादनमा सबभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य २९.८ प्रतिशत् र सबभन्दा न्यून प्रशासनिक तथा सहयोगी सेवा ०.४५ प्रतिशत् रहने अनुमान छ । औद्योगिक वर्गीकरणअनुसार कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबभन्दा धेरै विद्युत् तथा ग्यासको ९.१८ प्रतिशत् र सबभन्दा थोरै ०.१९ प्रतिशत् सार्वजनिक प्रशासन तथा रक्षाको हुने अनुमान छ ।

कर्णाली प्रदेशको कुल गार्हस्थ उत्पादनमा सबभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्यको ३१.५२ प्रतिशत् र सबभन्दा न्यून खानी तथा उत्खनन्को ०.१५ प्रतिशत् अनुमान छ । औद्योगिक वर्गीकरणअनुसार कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबभन्दा धेरै वित्तीय तथा बिमासेवाको ६.५४ प्रतिशत् र सबभन्दा थोरै ०.०५ प्रतिशत् सार्वजनिक सेवा तथा रक्षाको हुने अनुमान छ ।

सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादनमा सबभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्यको ३३.४५ प्रतिशत् र सबभन्दा कम प्रशासनिक तथा सहयोगी सेवाको ०.१ प्रतिशत् रहने अनुमान छ । औद्योगिक वर्गीकरणअनुसार कुल मूल्य अभिवृद्धिको वार्षिक वृद्धिदर सबभन्दा धेरै वित्तीय तथा बिमासेवाको ७.९८ प्रतिशत् र सबभन्दा कम ०.१८ प्रतिशत् सार्वजनिक सेवा तथा रक्षाको हुने अनुमान छ ।