हेटौंडा /हेटौंडा-४ नम्बर वडा कार्यालयद्वारा वडाका विद्यालयहरुसँगको सहकार्यमा २० जना विपन्न विद्यार्थीलाई निःशुल्क पढाइने भएको छ । वडा कार्यालय, भुटनदेवी मावि र आधुनिक राष्ट्रिय माविबीच शैक्षिब वर्ष २०८३ देखि निरन्तर लागु हुने गरी यस्तो सम्झौता÷प्रतिबद्वता भएको हो ।

सम्झौता÷प्रतिबद्वतापत्रमा अध्यक्ष नवीन सिग्देल, वडा सचिव रामप्रसाद गुरागाईं, भुटनदेवी मावि हेटौंडाका प्रअ सूर्यप्रसाद घिमिरे र आधनिक राष्ट्रिय माविका प्रअ रामसागर गुरागाईंले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापत्रमा छात्रवृत्तिको मापदण्डमा अतिविपन्न, दलित, सीमान्तकृत, द्वन्द्वपीडित, भूमिहीन, अभिभावकविहीन, सडकबालबालिका, विशेष प्राथमिकताका क्षेत्र जस्तै विद्यालयले सञ्चालन गर्ने खेलकुद, अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने छात्रछात्रा उल्लेख गरिएको छ । दुवै विद्यालयमा १०÷१० जना कक्षा—११ र १२ का विद्यार्थीहरुलाई ६ महिनाको मासिक सहयोग शुल्क र भर्ना शुल्क वडा कार्यालयबाट र विद्यालयले ६ महिनाको मासिक शुल्क छुट दिने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

विद्यालयहरुले चालु शैक्षिक वर्ष २०८३ देखि सम्झौता कार्यान्वयनमा ल्याउने र हरेक शैक्षिक वर्ष शुरुवातसँगै नवीकरण हुने सम्झौतामा उल्लेख गरिएको छ । आर्थिक अभावका कारण विद्यार्थी पढाइबाट बच्चित नहोऊन् भन्ने उद्धेश्यले पूर्णरुपमा निःशुल्क छात्रवृत्तिको व्यवस्था गरिएको वडा अध्यक्ष सिग्देलले बताउनुभयो ।