हेटौंडा/नेपालमा आर्थिक वर्ष २०८१÷०८२ मा १ लाख ३१ हजार ७ सय ३६ मेट्रिकटन माछा उत्पादन भएको तथ्य सार्वजनिक गरिएको छ । जसमध्ये १ लाख १० हजार १ सय १२ मेट्रिकटन माछा पोखरीमा उत्पादन भएको छ भने २१ हजार मेट्रिकटन प्राकृतिक जलाशयबाट उत्पादन भएको जनाइएको छ । सो अवधिमा ४ हजार ३ सय ३८ मेट्रिकटन माछा आयात गरिएको तथ्यांक प्रस्तुत गरिएको छ ।
प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटौंडाको आयोजनामा जलीय जीव मारेर जीविकोपार्जन गर्ने समुदाय तथा विभिन्न सरोकारवालासँग आयोजित प्राकृतिक जलाशय संरक्षण तथा सम्बद्र्धनसम्बन्धी स्थानीयस्तर अन्तत्र्रिmयामा उक्त जानकारी दिइएको हो । कार्यक्रममा संरक्षण केन्द्र प्रमुख सरोजकुमार यादबले नेपालमा हाल २ सय ५२ जातका माछा पाइने जानकारी दिए । उनका अनुसार तीमध्ये २ सय ३६ जातका माछा नेपालका रैथाने प्रजाति हुन् ।
उनले नेपालको प्राकृतिक जलाशयमा मात्र १६ प्रकारका रैथाने प्रजातिका माछा पाइने उल्लेख गर्दै ती प्रजातिको संरक्षण आवश्यक रहेको बताए । केन्द्र प्रमुख यादबका अनुसार नेपालमा गंगटा ९ जातका, झिंगेमाछा ३ जातका तथा घोंगी ५० जातका पाइन्छन् । तीमध्ये २५ जातका घोंगीमात्र खानयोग्य रहेको उनले जानकारी दिए । नेपालमा ५३ जातका भ्यागुता, ४७ जातका सरिसृप, १ सय ९३ जातका जलचर चरा तथा ८४ जातका जलीय वनस्पति रहेको तथ्य पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । उनले जलाशय अतिक्रमण, प्रदुषण तथा अवैधरुपमा माछा मार्ने गतिविधिका कारण जलीय जैविक विविधता जोखिममा परेको धारणा राखे । कार्यक्रममा सहभागीले प्राकृतिक जलाशय संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने भन्दै संरक्षण तथा दीगो उपयोगका कार्यक्रमलाई प्रभावकारीरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

















