हेटौंडा । अधिकांश औषधीहरु कोठाको तापक्रम (१५—२५ डिग्री सेल्सियस) मा राख्न सिफारिस गर्ने गनेै गरिन्छ । धेरै गर्मी वा घाम पर्ने ठाउँमा औषधी राख्दा तिनको रासायनिक संरचना बिग्रिएर काम नगर्ने हुन सक्छन् ।
अधिक तातोमा औषधीको प्रभावकारिता घट्न सक्छ । चिसोमा राख्नुपर्ने औषधीमा इन्सुलिन, केही भ्याक्सिन र झोल औषधीहरुलाई फ्रिजको चिसो ठाउँ (२—८ डिग्री सेल्सियस) राख्नुपर्छ । त्यसैले गत भदौ २४ गते जेन्जी आन्दोलनका नाममा आगजनी गरिएपछि उच्च तापक्रमका कारण औषधी खानयोग्य हुने नभएपछि मकवानपुरको मनहरी गाउँपालिकाले नष्ट गर्न सुरु गरेको छ ।
गाउँपालिकाको औषधी भण्डारका २ सय २२ थरिका औषधी काम नलाग्ने भएका छन् । मनहरी गाउँपालिका स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार औषधी भण्डारमा आगजनी भए पनि कतिपय औषधीहरु जलेका भने थिएनन् । औषधीहरु नजले पनि उच्च तापमा परेकाले प्रयोग गर्न उपयुक्त नहुने विज्ञहरुको भनाइ छ । त्यसैले आगजनीमा परेका औषधीलाई व्यवस्थितढंगले नष्ट गर्न थालिएको शाखा संयोजक रामचन्द्र दाहालले बताउनुभयो ।
उहाँका अनुसार २ सय २२ थरिका औषधी नष्ट गर्न थालिएको छ । गाउँपालिकाले नगर प्रहरी प्रयोग गरेर हरेक ट्याब्लेटलाई खोलबाट निकाली जमिनमा गाडेको हो । तरल प्रकृतिका औषधीहरुका बोतल फुटाएर एकै भाँडोमा संकलन गरी नष्ट गर्न थालिएको संयोजक दाहालले बताउनुभयो । उहाँका अनुसार नष्ट गरिने सबै औषधीको मूल्य ३३ लाख रुपियाँभन्दा बढी छ । पालिका अध्यक्ष रञ्जन कालाखेती, प्रमुख प्रशासीय अधिकृत रमेश सुबेदी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सरोकारवालालगायतको उपस्थितिमा औषधी नष्ट गर्ने कार्य गरिएको हो ।
२०८२ भदौ २४ गते देशभर भएको आन्दोलनका क्रममा मनहरी गाउँपालिका अध्यक्षको कक्ष, जिन्सी शाखासहित, लामिटारमा रहेको स्वास्थ्य, सामाजिक, पशु, शिक्षालगायत शाखाहरुमा क्षति पुगेको थियो भने सभाहलसमेत जलाइएको थियो ।















