काठमाडौं । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रालिद्वारा उत्पादन गरिएको ५०० ग्रामको डाबर हनी (मह) बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ । विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको महको नमुना खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम प्रयोगशालामा परीक्षण गर्दा उक्त उत्पादन न्यून स्तरको पाइएपछि फिर्ता (रिकल) प्रक्रिया अघि बढाएको जनाएको छ ।

विभागका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका—२३ स्थित डाबर नेपाल प्रालिबाट उत्पादन भएको ब्याच नम्बर एबी ००४७७ को डाबर हनी गुणस्तरहीन प्रमाणित भएको हो । उक्त उत्पादनको उत्पादन मिति २०२५÷१२ रहेको तथा उपभोग्य अवधि १८ महिना उल्लेख गरिएको छ । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले मिति जेठ ५ मा जारी गरेको आदेशअनुसार उक्त ब्याच नम्बरका सम्पूर्ण मह तत्काल बजारबाट फिर्ता गर्न तथा बिक्रीवितरण रोक्न सम्बन्धित कम्पनीलाई निर्देशन दिइएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२०) बमोजिम फिर्ता आदेश जारी गरिएको विभागले जनाएको छ । सोही दफाको उपदफा (४०) अनुसार उक्त उत्पादन पुनःबिक्रीवितरण नगर्न वा नगराउन महानिर्देशकको निर्देशनसमेत जारी गरिएको छ । विभागले पछिल्ला दिनमा खाद्यवस्तुको गुणस्तर परीक्षणलाई तीव्र बनाएको जनाएको छ । यसअघि पनि तयारी चाउचाउ, बिस्कुट, आइसक्रिमलगायत विभिन्न खाद्य पदार्थमाथि परीक्षण गरी न्यून गुणस्तर भेटिएका उत्पादनहरु बजारबाट फिर्ता गर्न आदेश जारी गरिएको विभागको सूचनामा उल्लेख छ ।