हेटौंडा / मकवानपुरमा सञ्चालित हेटौंडा क्याम्पसले बागमती विश्वविद्यालयसँगको सहकार्यमा आगामी शैक्षिक सत्रदेखि विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ। क्याम्पसले आयोजना गरेको “नवीन शैक्षिक कार्यक्रम र करियरका अवसरहरू” विषयक कार्यपत्रमार्फत नयाँ कार्यक्रमहरूबारे जानकारी गराउँदै सुझाव संकलन गर्ने लक्ष्य लिएको जनाएको छ।
आज हेटौंडा क्याम्पसको सभाहलमा पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा यसका बारेमा जानकारी गराइएको हो । कार्यक्रमको मुख्य उद्देश्य स्थानीय स्तरमै गुणस्तरीय र व्यावसायिक शिक्षा उपलब्ध गराउँदै विद्यार्थीलाई आधुनिक ज्ञान, सीप र रोजगारीसँग जोड्नु रहेको क्याम्पसका प्रमुख डाक्टर देव चन्द्र मानन्धरले जानकारी दिए ।
क्याम्पसका अनुसार आगामी शैक्षिक सत्रदेखि सूचना प्रविधि, व्यवस्थापन, कानून, होटल व्यवस्थापन र शिक्षा संकायअन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गरिनेछन्।
क्याम्पसले सञ्चालन गर्न लागेको सूचना प्रविधि स्नातक (BIT) कार्यक्रम डिजिटल युगको आवश्यकतालाई मध्यनजर गर्दै तयार गरिएको जनाएको छ। यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले सफ्टवेयर निर्माण, डाटाबेस व्यवस्थापन, नेटवर्किङ तथा साइबर सुरक्षासम्बन्धी ज्ञान हासिल गर्नेछन्। यो अध्ययनपछि सफ्टवेयर इन्जिनियर, वेभ डिजाइनर, साइबर सुरक्षा विशेषज्ञ तथा आईटी व्यवस्थापकका रूपमा करियर बनाउन सकिने मानन्धरले बताए ।
त्यसैगरी व्यवसाय प्रशासन स्नातक (BBA) कार्यक्रममार्फत नेतृत्व क्षमता, व्यवस्थापन कला तथा व्यावसायिक रणनीतिको विकासमा जोड दिइनेछ। यसबाट बैंकिङ, वित्तीय संस्था, मार्केटिङ तथा मानव संसाधन व्यवस्थापन क्षेत्रमा रोजगारीका अवसर प्राप्त हुनेछन्।
कानून शिक्षातर्फ क्याम्पसले पाँच वर्षे एकीकृत कानून स्नातक (BALLB) तथा तीन वर्षे कानून स्नातक (LLB) सञ्चालन गर्ने तयारी गरेको छ। यस कार्यक्रमले विद्यार्थीलाई न्यायिक प्रणाली, संविधान, फौजदारी र दिवानी कानूनको गहिरो अध्ययन गराउनेछ। अध्ययनपछि अधिवक्ता, न्यायाधीश, सरकारी वकील तथा कानूनी सल्लाहकारका रूपमा अवसरहरू खुल्ने मानन्धरले बताए ।
हस्पिटालिटी र पर्यटन क्षेत्रमा रुचि राख्ने विद्यार्थीका लागि होटल व्यवस्थापन स्नातक (BHM) कार्यक्रम ल्याइएको छ। यसअन्तर्गत होटल सञ्चालन, पाहुना सत्कार, खाना पकाउने कला, कोठा व्यवस्थापन तथा खाना र पेय पदार्थ सेवा सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ। अध्ययनपछि पाँचतारे होटल, अन्तर्राष्ट्रिय क्रुज सेवा, एयरलाइन्स तथा आफ्नै होटल वा रेष्टुरेन्ट सञ्चालन गर्ने अवसर रहने क्याम्पसले जनाएको छ।
त्यसैगरी शिक्षा संकायअन्तर्गत सञ्चालन हुन लागेको शिक्षाशास्त्र स्नातक (B.Ed.) कार्यक्रमलाई आधुनिक र प्रविधिमैत्री बनाइएको छ। यसमा दोहोरो मुख्य विषय (Double Major), व्यावसायिक विषय र सूचना प्रविधि सम्बन्धी पाठ्यक्रम समावेश गरिएको छ। यसले विद्यार्थीलाई आधुनिक शिक्षण पद्धति, नेतृत्व क्षमता, शैक्षिक परामर्श तथा पाठ्यक्रम विकासमा दक्ष बनाउने विश्वास गरिएको क्याम्पसका सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले बताए ।
क्याम्पसले यी कार्यक्रमहरू सञ्चालनमा आएपछि हेटौंडा शैक्षिक केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरेको छ। स्थानीय स्तरमै गुणस्तरीय र व्यावसायिक शिक्षा उपलब्ध हुँदा विद्यार्थीहरूको बाहिरिने क्रम कम हुने, समय र खर्च बचत हुने तथा स्थानीयस्तरमै दक्ष जनशक्ति उत्पादन हुने पराजुलीले बताए ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले पाठ्यक्रमको प्रभावकारिता, पूर्वाधारको तयारी, दक्ष जनशक्ति व्यवस्थापन तथा बजारको मागअनुसारको शिक्षामा जोड दिनुपर्ने सुझाव दिएका छन्।
क्याम्पस परिवारले यो नवीन शैक्षिक योजनाले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणसँगै हेटौंडा र समग्र मकवानपुरको शैक्षिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। आजको कार्यक्रममा क्याम्पसका सहायक प्रमुख डाक्टर लिलानाथ ढुंगेल, डाक्टर विजय नेपाल, प्राध्यापक अर्पण पराजुली लगायतकाको आतिथ्यता रहेको थियो ।












