हेटौँडा । बंगालको खाडीमा विकसित चक्रवात अर्णवको प्रभावले मकवानपुरसहित बागमती प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मंगलबार सूचना जारी गर्दै प्रशासनले आगामी कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षाको सम्भावना रहेको जनाएको हो । वर्षाका कारण नदी तथा खोलामा बाढी, डुबान र पहाडी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने प्रशासनले जनाएको छ ।

प्रशासनले किसानलाई धानबाली तथा अन्य कृषि उपज सुरक्षित राख्न, नदी तथा खोला किनारमा नजान र जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ । त्रिभुवन राजपथ, कान्तिलोकपथ र हेटौँडा-काठमाडौं छोटो मार्गलगायत सडकमा पहिरोको जोखिम रहेकाले अत्यावश्यक कामबाहेक लामो दूरी तथा रात्रिकालीन यात्रा नगर्न पनि अनुरोध गरिएको छ ।

स्थानीय तहलाई विपद् प्रतिकार्य टोली तयारी अवस्थामा राख्न तथा जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन प्रशासनले निर्देशन दिएको छ। साथै, सुरक्षा निकायलाई उद्धार टोली र सामग्रीसहित २४ सै घण्टा तयारी अवस्थामा रहन भनिएको छ ।

विपद्सम्बन्धी आधिकारिक सूचना मात्र लिन आग्रह गर्दै प्रशासनले आपत्कालीन अवस्थामा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको नम्बर ११२३४, नेपाल प्रहरीको १०० र बाढीसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न अनुरोध गरेको छ