हेटौंडा/हेटौंडामा भन्सार छली गरी लुकाइछिपाइ ल्याइएको १४ किलो १ सय ८० ग्राम चाँदीका गरगहना तथा सिक्कासहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रेस विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो।
यही कात्तिक ८ गते अन्दाजी दिउँसो ३:१५ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नं. १५ स्थित रातोमाटे चेकवाइन्टमा चेकजाँच गर्ने क्रममा चाँदी बरामद भएको हो। वीरगञ्जबाट हेटौंडा आउँदै गरेको बा.३ च. ७०७९ नम्बरको कारको डिक्कीभित्र फल्स बटम बनाई ल्याउँदै गरेको अवस्थामा चाँदी फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको १४ किलो १ सय ८० ग्राम चाँदीको अन्दाजी मूल्य रु. ४०,६९,६६१ अर्थात् (चालिस लाख उनानसत्तरी हजार छ सय ६१) कायम गरिएको छ।
पक्राउ पर्नेहरू:
घटनामा संलग्न रहेको आरोपमा २ जना पुरुष र २ जना महिला गरी ४ जना पक्राउ परेका छन्। उनीहरूको विवरण यसप्रकार छ:
१. भारतको रक्सौल, मोतिहारी बस्ने ५० वर्षीय रमेश कुमार साह सोनार
२. सोही स्थान निवासी ४२ वर्षीया चन्दा देवी सोनार
३. सोही स्थान निवासी १८ वर्षीय अजित साह सोनार
४. सोही स्थान निवासी २० वर्षीया नन्दनी कुमारी साह
बरामद गरिएको चाँदी, सवारी साधन र पक्राउ परेका चारै जनालाई आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि आजै भन्सार कार्यालय वीरगञ्ज, पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) श्याम बहादुर खत्रीले जानकारी दिएका छन्।
















