हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४, हुप्राचौरस्थित अन फ्रेस जुस पसलमा अपरिचित व्यक्तिहरूले फलामे रड प्रहार गर्दा तीन जना घाइते भएका छन्।
आइतबार साँझ करिब ५ः१५ बजे दुईवटा मोटरसाइकलमा मास्क लगाएर आएका चार जना अपरिचित व्यक्तिले पसलभित्र जुस खाइरहेका युवाहरूमाथि फलामे रड प्रहार गरेको प्रहरीले जनाएको छ। आक्रमणपछि उनीहरू फरार भएका छन्।
रड प्रहारबाट हेटौँडा–३, बसामाडीका २७ वर्षीय बुद्ध पाख्रिनको बायाँ आँखामा, ३१ वर्षीय जनमुक्तानको टाउको र हातमा तथा ३० वर्षीय अंकित राईको टाउकोमा चोट लागेको छ।
घाइते तीनै जना आफैँ उपचारका लागि हेटौँडा अस्पताल पुगेका थिए। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ। खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयअन्तर्गत सानोपोखरा प्रहरी चौकीका प्रहरी निरीक्षक धर्मराज खत्रीको कमान्डमा १० जना प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल नं. १४ गणबाट प्रहरी निरीक्षक शत्रुधन ठाकुरको कमान्डमा १० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ।
















