• हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा—४ कार्यालयको आयोजनामा, नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सहआयोजनामा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेष सहयोग तथा टोलविकास संस्था नगर समन्वय समिति हेटौंडाको व्यवस्थापनमा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य परीक्षण शिविर शनिबार सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरका वरिष्ठ उपाध्यक्ष ध्रुव भुजेलको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका वडा—४ का अध्यक्ष नवीन सिग्देल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईं, टोलविकास संस्था नगर समन्वय समिति हेटौंडा अध्यक्ष ध्रुवप्रसाद अधिकारीलगायतको विशेष आतिथ्यता थियो ।

शिविरमा हेटौंडा—४ तथा विभिन्न क्षेत्रका ६ सयभन्दा बढी नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । शिविरमा मुटुरोग, स्त्रीरोग तथा क्षयरोगसम्बन्धि विशेषज्ञ सेवा, भिडियो एक्सरे, ईसीजी, इको परीक्षण, छातिको एक्सरे, पीएफटी (दम परीक्षण), सुगर तथा लिपिड प्रोफाइल परीक्षण, महिलाको पाठेघर तथा पाठेघरमुखको क्यान्सर परीक्षण, सामान्य स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो । आवश्यक परेका बिरामीहरुलाई निःशुल्क औषधि वितरणसमेत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै सरकार स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पु¥याउन प्रतिबद्ध रहेको बताए । उनले यस्ता शिविरले समयमै रोग पहिचान गरी उपचारमा सहजता ल्याउने तथा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।

वडा अध्यक्ष सिग्देलले वडा कार्यालयले नागरिकको स्वास्थ्य, शिक्षा र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै विभिन्न जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले शिविरमा उल्लेखनीय सहभागिता जनाइ स्वास्थ्य परीक्षण गराउनुभएकोमा सम्पूर्ण नागरिकप्रति धन्यवाद व्यक्त गरे । टोलविकास संस्था नगर समन्वय समिति अध्यक्ष एवम् कार्यक्रम व्यवस्थापक अधिकारीले स्वस्थ्य नागरिक समृद्ध समाजको आधार भएको उल्लेख गर्दै समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । उनले शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्था, चिकित्सक, स्वास्थ्यकर्मी, स्वयम्सेवक तथा सहभागी नागरिकप्रति हार्दिक आभार व्यक्त गरे ।

शिविरमा विशेषज्ञ चिकित्सक टोली, स्वास्थ्यकर्मी, स्वयम्सेवक तथा स्थानीय जनप्रतिनिधिको सक्रिय सहभागिता थियो । आयोजकका अनुसार शिविरले समुदायका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पु¥याएको छ । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि आयोजक संस्थाहरुले भविष्यमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धि कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।