हेटौंडा । मकवानपुरगढी गाउँपालिका—३, मक्राञ्चुलीको एउटा सामान्य घर । आर्थिकरुपमा कमजोर परिवार । विहान खेतबारिको काम, दिउँसो विद्यालय र साँझ भोलिको खर्च कसरी जुटाउने भन्ने चिन्ता । यही परिवेशमा जन्मिएका दीपक अधिकारीले जीवनयात्रा सुरु गरेका थिए । तर, आज उनै दीपक अधिकारी पीएचडी उपाधि हासिल गरेर गाउँका युवाहरुका लागि प्रेरणाका स्रोत बनेका छन् ।

२०४० भदौ १४ गते दामोदर अधिकारी र मिठु अधिकारीका सन्तानका रुपमा जन्मिएका दीपक तीन दाजुभाइमध्ये माइला सन्तान हुन् । एक बहिनीसमेत रहेको परिवारको आर्थिक अवस्था कमजोर थियो । अभावले उनको पढ्ने इच्छालाई कहिल्यै कमजोर बनाउन सकेन । उनको प्रारम्भिक शिक्षा तत्कालीन मकवानपुरगढी गाविस—५ स्थित सरस्वती प्राविमा भयो । त्यसपछि भानु माध्यमिक विद्यालयमा कक्षा—६ देखि भर्ना भए र एसएलसी त्यहींबाट दिए । उनी हरेक कक्षामा प्रथम भए ।

विद्यालयमा पढ्नका लागि कापीकलम किन्नुपर्ने हुन्थ्यो । त्यसका लागि उनले विद्यालयमै पुष्टकारी बेच्थे । कहिले हलो जोत्थे, कहिले बारि खन्थे, कहिले धान काट्न मेलापात जान्थे । मल बोकेर र ज्यालादारी गरेर कमाएको पैसाले भर्ना शुल्क र ट्युसन फी तिर्थे । २०५६ सालमा भानु माध्यमिक विद्यालयबाट ६९.१४ प्रतिशत् अंकसहित प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएपछि उनको सपना विज्ञान विषय पढ्ने थियो । तर, आर्थिक अभावले उनको सपना तत्काल पूरा हुन सकेन । उनले फरेष्ट्री अध्ययनका लागि प्रवेश परीक्षा पनि दिएका थिए र नामसमेत निस्किएको थियो । तर, पहुँच अभावका कारण अर्कैले उनको नाममा अध्ययन गरिरहेको कुरा उनले पछिमात्र थाहा पाए ।

२०५७ सालमा उनी हेटौंडाको वंशगोपाल माध्यमिक विद्यालयमा कक्षा—११ मा भर्ना भए । गाउँकै शिक्षक रमेशप्रसाद लामिछानेको सल्लाहमा परिवारले उनलाई त्यहाँ पठाइएको थियो । सरुमा कमर्स विषय लिए पनि पछि भवानी सापकोटा दिदीले उनको परीक्षा फाराम शिक्षा संकायतर्फ मेजर गणित राखेर भरिदिइन् । त्यही निर्णयले उनको भविष्यको बाटो तय गरिदियो । कक्षा—११ पढ्दापढ्दै उनी गाउँकै जुनेली बोर्डिङ स्कुलमा मासिक १ हजार ५ सय तलबमा शिक्षक बने । त्यही कमाइले घरखर्च र आफ्नै अध्ययन खर्च धान्न थाले ।

११ र १२ कक्षा पूरा गरेपछि उनी हेटौंडा क्याम्पसमा शिक्षाशास्त्र संकायअन्तर्गत् मेजर गणित लिएर स्नातक अध्ययन थाले । त्यतिबेला उनी जीएस स्कुलमा पढाउँथे । द्वन्द्वकालको समय भएकाले गाउँबाट दैनिक आउजाउ गर्न कठिन थियो । त्यसपछि उनी हेटौंडामै डेरा गरेर पढाउने र पढ्ने दुवै काम सँगै अघि बढाउन थाले ।

संघर्षबीच उनले तीन वर्षे स्नातक तह पूरा गरे । त्यसपछि उच्चशिक्षाको खोजीमा २०६१ सालमा काठमाडौं पुगे । त्यहाँ उनका दाजु तेजप्रसाद अधिकारीको सहारा थियो । दाजु कापी व्यापारमा संलग्न थिए भने दीपक महेन्द्ररत्न क्याम्पसमा स्नातकोत्तर अध्ययनका लागि भर्ना भए । महेन्द्ररत्न क्याम्पसको साँझको कक्षा र त्रिभुवन विश्वविद्यालयको दिउँसोको अध्ययन सँगै चलिरह्यो । खर्च धान्न उनले दाजुको व्यवसायमा सघाए । कहिलेकाहीं तत्कालीन आरएनएसी र रत्नपार्क क्षेत्रमा सडककिनारमा पत्रिका बेचेर पनि आफ्नो अध्ययन खर्च जुटाए । ‘कतिपय दिन विहानदेखि रातिसम्म काम गर्थेंं । तर, पढाइ छोड्ने सोच कहिल्यै आएन,’ उनी भन्छन् । उनले स्नातकोत्तर तह ७३ प्रतिशत् अंकसहित पूरा गरे ।

त्यसबीच आफूले अध्ययन गरेको भानु माध्यमिक विद्यालयमा गणित विषयको राहत शिक्षक आवश्यक रहेको सूचना पाए । परीक्षा दिए र छनौट भए । त्यसपछि करिब आठ वर्षसम्म उनले त्यही विद्यालयमा अध्यापन गरे ।

२०७१ सालमा शिक्षक सेवा आयोगले लामो अन्तरालपछि विज्ञापन खुलायो । उनले विभिन्न तहका परीक्षामा नाम निकाल्न सफल भए तर अन्तर्वार्तामा छनौट हुन सकेनन् । हार नमानी उनले पुनः प्रयास जारी राखे । २०७२ सालमा शिक्षक सेवा आयोगअन्तर्गत् माध्यमिक तथा निम्न माध्यमिक तहमा नाम निकाल्न सफल भए । नेपाल विद्युत् प्राधिकरणका तेस्रो, चौथो र पाँचौं तहका परीक्षामा समेत सफलता प्राप्त गरे । चौथो तहमा सिफारिससमेत भए । तर, शिक्षाप्रतिको लगावले उनले प्राधिकरणको जागिर रोजेनन् । ‘शिक्षण पेशाले मलाई दिएको आत्मसन्तुष्टि अरु कतै भेटिनँ,’ उनी भन्छन् ।

२०७२ सालदेखि आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा स्थायी शिक्षकका रुपमा कार्यरत् दीपकले निरन्तर अध्यापन गरिरहेका छन् । २०७६ सालमा शिक्षक महासंघको स्थानीय अध्यक्ष बनेर शिक्षक अधिकार, पेशागत् सुरक्षा र शैक्षिक सुधारका पक्षमा सक्रिय भूमिका निर्वाह गरे । यसबीच उनले वंशगोपाल, निर्मल मावि, जेनिथलगायत विभिन्न शैक्षिक संस्थामा अध्यापन गरे । शिक्षक सेवा आयोगको तयारी गरिरहेका नयाँ शिक्षकहरुलाई प्रशिक्षण दिए । उनका धेरै विद्यार्थी र सहकर्मीहरु सफल शिक्षक बनेका छन् । तर, यतिमै उनी सन्तुष्ट भएनन् ।

‘अझै अध्ययन पूरा भएको छैन भन्ने लाग्थ्यो,’ उनी सम्झिन्छन् । त्यही सोचले उनलाई अनुसन्धानको यात्रातर्फ डो¥यायो । सन् २०१९ मा काठमाडौंस्थित पीएचडी सेन्टरसँग समन्वय गर्दै भारतको सिक्किमस्थित प्रोफेसनल युनिभर्सिटीको प्रवेश परीक्षा दिए । सफल भएपछि उनले विद्यावारिधि (पीएचडी) अध्ययन सुरु गरे । उनको अनुसन्धान विषय थियो—विद्यार्थीहरुको व्यवहारिक जीवनमा गणितीय अवधारणा प्रयोग र प्रभाव । गणितका सिद्धान्तहरु व्यवहारिक जीवनमा कसरी उपयोगी हुन्छन् भन्ने विषयमा केन्द्रित अनुसन्धान उनले अघि बढाए ।

पीएचडीको यात्रा सजिलो थिएन । एकातिर विद्यालयमा अध्यापन, अर्कोतिर अनुसन्धान । समय, स्रोत र आर्थिक व्यवस्थापन सबै चुनौतीपूर्ण थिए । सन् २०२२ मा उनले पुल्चोक इञ्जिनियरिङ क्याम्पस, एभरेष्ट इञ्जिनियरिङ कलेज, मकवानपुर क्याम्पस र आधुनिक राष्ट्रिय माविलगायत संस्थाबाट आवश्यक तथ्यांक संकलन गरे । गुणात्मक र परिमाणात्मक दुवै विधिबाट अनुसन्धान सम्पन्न गरे । यस यात्रामा उनका मार्गदर्शक प्राध्यापक डा. सिद्धि कोइराला थिए । डा. बिनोद नेपाल, डा. बासुदेव सुबेदी र डा. तोया खनाललगायत गुरुहरुको सहयोगलाई उनी विशेषरुपमा सम्झन्छन् ।

दुई अनुसन्धानात्मक लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेपछि, विभिन्न सम्मेलनमा प्रस्तुति दिएपछि र लामो मूल्यांकन प्रक्रियापछि अन्ततः १९ फेब्रुअरी २०२६ मा उनले अन्तिम भाइवा दिए । सात—आठ जना विशेषज्ञहरुको उपस्थितिमा भएको प्रस्तुतिकरण सफल भयो । त्यसपछि उनलाई विद्यावारिधि उपाधि प्रदान गरियो । हलो जोतेर, मल बोकेर, धान काटेर, विद्यालयमा पुष्टकारी बेचेर, रत्नपार्कमा पत्रिका बेचेर पढेको एउटा गाउँले युवक अन्ततः डा. दीपक अधिकारी बने ।

मकवानपुरगढी गाउँपालिका वडा—३ ले उनलाई सम्मान गरेको छ । सम्मान ग्रहण गर्दै उनले भने—मैले हासिल गरेको ज्ञान आफ्नै देश, समाज र नयाँपुस्ताको हितमा प्रयोग गर्न चाहन्छु । आवश्यक पर्दा म आफ्नो गाउँ र समाजका लागि सधैं तयार छु ।

अधिकारीको कथा केवल एउटा व्यक्तिको सफलता होइन, यो अभावमाथि गरेको विजयको कथा हो । यो प्रमाण हो—आर्थिक अवस्था कमजोर भए पनि सपना बलियो भए असम्भव केही हुँदैन । गाउँको एउटा साधारण किसान परिवारमा जन्मिएको बालकले संघर्ष, मेहनत र अटल आत्मविश्वासका बलमा पीएचडीसम्मको यात्रा तय गरेको यस सत्यकथा हालका युवापुस्ताका लागि प्रेरणाको उज्यालो दीप बनेको छ ।