हेटौंडा/हेटौंडा अस्पतालमा बिरामीका लागि प्रयोग हुँदै आएका ह्वीलचेयर जीर्ण अवस्थामा रहेका कारण बिरामी र उनीहरुका आफन्तले सास्ती भोग्नुपरेको गुनासो गरेका छन् ।
सेवाग्राहीका अनुसार अस्पतालमा रहेका अधिकांश ह्वीलचेयर निकै पुराना भइसकेका छन् । कतिपय ह्वीलचेयरका पांग्रा बिग्रिएका वा नभएका छन् भने कालो सिट कभर च्यातिएको अवस्थामा रहेको पाइएको छ । यस्तो अवस्थाले बिरामीलाई एक विभागबाट अर्को विभागमा लैजान कठिनाइ हुने गरेको उनीहरुको भनाइ छ ।
विशेषगरि अशक्त, ज्येष्ठ नागरिक तथा हि“डडुल गर्न नसक्ने बिरामीलाई परीक्षण कक्ष, एक्सरे, वार्ड वा अन्य सेवा लिन लैजा“दा ह्वीलचेयर सहजरुपमा चलाउन नसकिएको सेवाग्राहीले बताएका छन् । जीर्ण उपकरणका कारण बिरामीको सुरक्षासमेत जोखिममा पर्नसक्ने उनीहरुको चिन्ता छ ।
सेवाग्राहीहरुले अस्पताल प्रशासनस“ग तत्काल पुराना ह्वीलचेयरको मर्मत वा नया“ ह्वीलचेयरको व्यवस्था गर्न माग गरेका छन् । अस्पतालजस्तो संवेदनशील स्वास्थ्य संस्थामा आधारभुत उपकरणसमेत जीर्ण अवस्थामा रहनु सेवाको गुणस्तरमाथि प्रश्न उठ्ने उनीहरुको भनाइ छ । हेटौंडा अस्पतालका मेसु रामचन्द्र सापकोटाले उक्त विषयबारे आफूलाई जानकारी नभएको दाबी गरेका छन् । अस्पतालमा गरिएको अनुगमनका क्रममा समेत त्यस्तो समस्या आफूले नदेखेको उनको भनाइ छ । हाल प्रयोगमा रहेको ह्वीलचियरबाट सेवा सञ्चालन भइरहेको बताउ“दै सापकोटाले सेवाग्राहीबाट गुनासो आए त्यसलाई सम्बोधन गर्दै आवश्यकताअनुसार ह्वीलचियर परिवर्तन गर्न अस्पताल तयार रहेको स्पष्ट पारे ।
ह्वीलचेयर जीर्ण भएका कारण गुड्दागुड्दै पांग्रा वा ब्रेक फुत्किन सक्छ । बस्ने सिट वा पछाडिको भाग च्यातिएर ढाड र कम्मर दुख्ने समस्या हुनसक्छ । खिया लागेको फलाम वा तिखो भागले बिरामीको शरीरमा चोट लाग्न सक्छ । यदि सामान्य भाग जस्तैः टायर, ब्रेक वा सिटमात्र बिग्रिएका छन् भने तिनलाई फेर्न सकिन्छ । धेरै नै जीर्ण भइसकेको ह्वीलचेयरलाई कबाडीमा दिनु वा उचित विसर्जन गर्नु नै सुरक्षित हुन्छ । आर्थिक अवस्था कमजोर भएकाहरुले विभिन्न सामाजिक संस्था वा स्थानीय सरकारस“ग नया“ ह्वीलचेयरका लागि सहयोग माग्न सक्छन् ।











