हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशमा देखिएको आन्तरिक विवाद थप चर्किएको छ । पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेश सरकारमा सहभागी भएका तीन सांसदलाई कारबाही गर्दै संसदीय दलका नेता उद्धब थापालाई समेत पदमुक्त गर्ने निर्णय गरेको अवस्थामा थापाले भने पाँच प्रदेशसभा सदस्यलाई निष्कासन गर्न प्रदेशसभा सचिवालयमा बुधबार दिउँसो पत्राचार गर्नुभएको हो ।

मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने क्रममा पार्टीले जारी गरेको ह्ीवप उलंघन गरी प्रदेशसभा बैठकमा अनुपस्थित भएको आरोपमा सांसदहरु भुवनकुमार पाठक, कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामालाई प्रदेशसभा सदस्यबाट हटाउने निर्णय गरिएको भन्दै प्रदेशसभा सचिवालयलाई पत्र पठाइएको छ ।

राप्रपा बागमती प्रदेश संसदीय दलको लेटरप्याडमा पठाइएको पत्रमा विश्वासको मतको पक्षमा मतदान गर्न पार्टीले दिएको निर्देशन अवज्ञा गरिएको, स्पष्टीकरण माग्दासमेत जवाफ नदिएको तथा पार्टी र संसदीय दलको विधान उलंघन भएको उल्लेख गरिएको छ । पत्राचार राप्रपाभित्रको विवादबीच भएको हो ।

बागमती प्रदेश सरकारमा सहभागी राजु बिष्ट, राजेन्द्र प्रजापति र गीरबहादुर तामाङमाथि पार्टी हितविपरीत कार्य गरेको आरोप लगाउँदै राप्रपा अध्यक्ष लिङ्देनले यसअघि कारबाही प्रक्रिया अघि बढाउनुभएको थियो । त्यसलगत्तै संसदीय दलका नेता थापालाई पनि दलको नेताको जिम्मेवारीबाट हटाइएको निर्णय सार्वजनिक गरिएको थियो । थापा पक्षले भने आफूहरु नै आधिकारिक संसदीय दल रहेको दाबी गर्दै आएको छ । यही विवादबीच थापाले पाँच सांसदमाथि कारबाहीको निर्णय गर्दै प्रदेशसभा सचिवालयलाई जानकारी गराउनुभएको छ ।

भदौ १८ गते बसेको राप्रपा संसदीय दलको बैठकले ५ सांसदलाई ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । तर, तोकिएको समयभित्र कुनै पनि सदस्यले स्पष्टीकरण नदिएको दलका नेता थापाले बताउनुभयो । स्पष्टीकरणसमेत नदिएपछि पार्टीको विधान तथा संसदीय दलको विधान, २०७९ बमोजिम उहाँहरुलाई प्रदेशसभा सदस्यबाट हटाउने निर्णय गरिएको उहाँको भनाइ छ ।

ह्विप उलंघन गर्ने प्रदेशसभा सदस्यहरुलाई हटाइ प्रदेशसभालाई जानकारी गराउन सभामुखसमक्ष माग गरिएको पत्रमा उल्लेख छ । यससँगै बागमती प्रदेशमा सरकार गठनका क्रममा देखिएको राजनीतिक समीकरणमा राप्रपाभित्रको असन्तुष्टि तथा विवाद थप सतहमा आएको छ । बागमती प्रदेशसभामा हाल राप्रपाका १२ सांसद हुनुहुन्छ । प्रदेश सरकारमा सहभागी हुने विषयमा दुई धार देखिएको राप्रपामा संसदीय दलका नेता थापानिकट ६ गरी ७ जनाले सरकारलाई समर्थन गर्नुभएको हो । बागमती प्रदेशसभाका निवर्तमान सभामुख तथा राप्रपाका महामन्त्री भुवन पाठकनिकट ४ गरी उहाँसहित ५ सांसद सरकार गठनको विपक्षमा उभिनुभएको

थियो ।