हेटौंडा/मकवानपुरको मकवानपुरगढी गाउ“पालिका–३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुर र मकवानपुरगढी गाउ“पालिकाले बुधबार उनीहरुलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरेको हो ।
मकवानपुरगढी गाउँपालिका–३ का रुद्रप्रसाद तिम्सिना, पदमबहादुर वाइबा, तीर्थप्रसाद अधिकारी, जयराम पुरासाहिनी, उद्धब लम्साल र रामबहादुर बम्जनले लालपुर्जा प्राप्त गरेका हुन् । पालिकाका अनुसार मकवानपुरगढीमा भूमिहीन सुकुम्बासीका रुपमा १ सय ५५ जनाले जग्गाप्राप्तिका लागि फाराम भरेका छन् ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समिति मकवानपुर अध्यक्ष वसन्त अधिकारीले भूमिसम्बन्धि समस्या समाधानका लागि केन्द्रमा समिति गठन भएलगत्तै जिल्लामा पनि समिति गठन गरी काम अघि बढाइएको बताए । मकवानपुरलाई लालपुर्जा वितरणमा देशकै अग्रणी जिल्ला बनाउने उद्धेश्यसहित काम सुरु गरिएको उनको भनाइ छ । अधिकारीका अनुसार हाल मकवानपुरगढीका ५७, बागमती गाउ“पालिकाका ८८ र बकैया गाउ“पालिकाका ५१ गरी २ सय २ वटा लालपुर्जा वितरण प्रक्रियामा छन् । उनले आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि ती लालपुर्जा वितरणको काम अघि बढाइने बताए ।
जिल्लामा स्थानीय तहबाट संकलन गरिएको तथ्यांकअनुसार २५ हजार ५ सय ८० अव्यवस्थित बसोबासी, ४ हजार ९ सय १ भूमिहीन सुकुम्बासी र ५ सय २३ भूमिहीन दलित रहेको तथ्यांक समितिसमक्ष आएको अधिकारीले जानकारी दिए । उक्त तथ्यांकको प्रमाणीकरण भने हुन बा“की रहेको उनको भनाइ छ । उनले भूमि समस्या समाधान केन्द्र वा प्रदेश सरकारको मात्र जिम्मेवारी नभइ स्थानीय तहको समेत महत्वपूर्ण भूमिका रहेको बताउ“दै स्थानीय तहलाई तथ्यांक संकलन, प्रमाणीकरण तथा कार्यपालिकाबाट निर्णय गरी जिल्ला समितिमा पठाउन आग्रह गरे ।
कार्यक्रममा मकवानपुरगढी गाउ“पालिका उपाध्यक्ष मानकुमार पाख्रिनले भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व दिलाउने विषय जनप्रतिनिधिका लागि पनि गौरवको विषय भएको बताइन् । पटकपटक सरकार र भूमि आयोग परिवर्तन हु“दा प्रक्रिया जटिल बने पनि पालिकाले भूमिहीनको विवरण संकलन तथा दर्ताको काम अघि बढाउ“दै आएको उनले बताइन् ।











