मकवानपुरगढी \ नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका कार्यसमितिले मकवानपुरगढी-४ ज्वालादेवी निवासी अग्निपीडित इन्द्र बहादुर कठायतलाई आर्थिक सहयोग गरेको छ । कार्यसमितिले मंगलबार सहयोग रकम संकलन गरी ५० हजार ६१६ सय रुपैयाँ पीडित कठायतलाई हस्तान्तरण गरेको हो । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका कार्यसमितिका कार्यवाहक सभापति थलनाथ घिमिरेको नेतृत्वमा गएको टोलीले पीडित कठायतलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गरेको समितिका सचिव आइत सिं लोले बताए ।

आगलागीबाट प्रभावित कठायतको परिवारलाई तत्काल राहत तथा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको कांग्रेस मकवानपुरगढीले जनाएको छ । विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको भन्दै कार्यसमितिले आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता गरेको छ ।

सहयोग रकम हस्तान्तरणका क्रममा जिल्ला सदस्य राजकुमार गोले, पूर्व जिल्ला सदस्य बलराम घिमिरे, पूर्व संघीय सभापति यतिराज सापकोटा, वडा १ का वडाअध्यक्ष एंव सचिव आइतसिं लो, वडा २ का वडाध्यक्ष बखान सिं पाख्रीन,वडा ७ का वडाध्यक्ष सुर्यबहादुर रुम्बा, वडा ३ का वडा सभापति विजय थोकर, तरुण दल मकवानपुरगढी अध्यक्ष सानोकान्छा थिङ, गाउँ कार्यसमितिका सहसचिव रामप्रसाद चौरेल, सर्कलाल लो लगायत कांग्रेस नेतागणहरुको सहभागिता रहेको थियो ।

गत १७ गते बुधबार विद्युत सर्ट भइ आगलागी हुदाँ दुई कोठे घर र पुरानो घरमा पूर्णरुपमा क्षति हुदाँ करिब २५ लाख बराबरको क्षति भएको कठायतले बताए । घरभित्र रहेका जिन्सी सामाग्री, खाद्यान्न, मोटरसाइकल, फोटोग्राफमा प्रयोगहुने क्यामरा सहितका सामाग्री, सुन लगायत अन्य सामाग्री जलेर नष्ट भएको थियो ।