कैलाश \ कैलाश ६ मा अवस्थित व्यास माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा कृतिका सुवेदी वक्तृत्वकला प्रतियोगितामा प्रथम भइकी छिन् । शुक्रबार गाउँपालिकामा आयोजित स्वास्थ्य शाखाको विद्यालय पोषण शिक्षा कार्यक्रम अन्तरगत “स्वच्छ पोषण सवल जीवनको आधार” विषयक वक्तृत्वकलामा उनी प्रथम भएकी हुन् । त्यस्तै, कैलाश ९ मा रहेको कालिका माध्यामिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा प्रतिक्षा मुक्तान द्धितीय भएकी छिन् भने कैलाश २ मा अवस्थित कमलादेवी माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र विश्वास गुरुङ तृतीय भएका छन् ।
विजयी भएका प्रतिस्पर्धीहरुलाई नगद, विद्यालय झोला सहित स्टेशनरी सामाग्री प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले बताए । प्रतियोगितामा माध्यामिक तहका १८ जना छात्राछात्रको सहभागीता रहेको थियो । कार्यक्रममा सम्पूर्ण सहभागीहरुलाई पनि प्रोत्साहन स्वरुप स्टेशनरी सामाग्री प्रदान गरिएको थियो ।
विजयीहरुलाई पुरस्कार वितरण पश्चात गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले वक्तृत्वकलाले विद्यार्थीहरुमा बोल्ने कलाको वृद्धि विकास हुनुका साथै आत्म विश्वास बढ्ने बताए । विद्यार्थीहरुको वाककलासँगै स्वास्थ्य, शिक्षा, सामाजिक विषयवस्तुमा थप जानकारी हुने भएकाले पनि यी यस्ता कार्यक्रमहरु गरिदैँ आएको बताए ।
पढाई सँगै आफु र समाज स्वस्थ रहनुपर्छ भन्ने हेतुले स्वच्छ पोषण सवल जीवनस्तर बारे विषय समेटिएको बताए । वार्षिक कार्यक्रम अनुरुप गत वर्ष झैँ विद्यार्थीको चेतना अभिवृद्धि गरिनुका साथै वाककलाको वृद्धि हुने बताए । आगामी वर्षहरुमा पनि अन्य विषय वस्तु छनौट गरि यस किसिमका कार्यक्रम सञ्चालन हुने समेत बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीता कुमारी खत्री, शिक्षा शाखा प्रमुख समीर जोशी, स्वास्थ्य शाखा प्रमुख तिलक प्रसाद गौतम, प्रशासन शाखा प्रमुख रामचन्द्र शिवाकोटी, विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

















