हेटौँडा । मकवानपुरको हेटौँडा–५ स्थित हेटौँडा सिटी कलेजले चारवर्षे स्नातक तहको Bachelor of Business Studies (BBS) कार्यक्रममा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि निःशुल्क अध्ययन अवसर प्रदान गर्ने घोषणा गरेको छ।
कलेजले शनिबार पत्रकार सम्मेलनमार्फत संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत आर्थिक, सामाजिक तथा अन्य विविध कारणले उच्च शिक्षाबाट वञ्चित हुन सक्ने विद्यार्थीहरूलाई लक्षित गरी उक्त योजना सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।

उच्च शिक्षालाई सबैका लागि पहुँचयोग्य, समावेशी र सहज बनाउने उद्देश्यले ल्याइएको यस विशेष कार्यक्रमअन्तर्गत निर्धारित मापदण्ड पूरा गर्ने तथा कलेजमा भर्ना हुन इच्छुक विद्यार्थीहरूले BBS कार्यक्रममा निःशुल्क अध्ययन गर्ने अवसर प्राप्त गर्ने कलेजका प्राचार्य श्रीबहादुर कार्कीले बताए।
उनले शिक्षामा समान अवसरको सुनिश्चितता आजको आवश्यकता भएको उल्लेख गर्दै आर्थिक अभावका कारण उच्च शिक्षाबाट टाढिन बाध्य विद्यार्थीहरूका लागि यो कार्यक्रम महत्वपूर्ण राहत बन्ने विश्वास व्यक्त गरे।
त्यस्तै, कलेजका सीईओ सुमन्ता सिल्वालले यस पहलले दक्ष जनशक्ति उत्पादन, सामाजिक उत्तरदायित्व प्रवर्द्धन तथा शैक्षिक पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै आएको हेटौँडा सिटी कलेजको यो पहललाई शैक्षिक क्षेत्रमा सकारात्मक तथा उदाहरणीय कदमका रूपमा हेरिएको छ। विशेषगरी आर्थिक रूपमा कमजोर तर अध्ययनप्रति रुचि भएका विद्यार्थीहरूका लागि यो अवसर उच्च शिक्षा हासिल गर्ने महत्वपूर्ण माध्यम बन्न सक्ने अपेक्षा गरिएको छ।
कलेजले यस अवसरको अधिकतम सदुपयोग गर्न विद्यार्थी, अभिभावक, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई सहयोग र सहकार्यका लागि आग्रह गरेको छ।
उच्च शिक्षामा समान पहुँच र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने हेटौँडा सिटी कलेजको यो निर्णय मकवानपुरको शैक्षिक क्षेत्रमा महत्वपूर्ण तथा स्वागतयोग्य पहलका रूपमा लिइएको छ।
















