हेटौंडा/५४ औं विश्व वातावरण दिवसको अवसरमा हेटौंडा—६, चौघडास्थित रानी सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा भानु माध्यमिक विद्यालयकी श्रद्धा ल्वागुन प्रथम भएकी छन् ।

‘वनडँढेलो नियन्त्रणमा सामुदायिक वन समूहको भूमिका’ विषयमा आयोजित सामुदायिक तथा संस्थागत् विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा सुनगाभा शिक्षा निकेतनकी प्रकृति लामिछानेमगर द्वितीय तथा भुटनदेवी माध्यमिक विद्यालयकी शारिका सुबेदी तृतीय भएको समूहले जनाएको छ । प्रतियोगितामा ६ विद्यालयका ११ विद्यार्थीको सहभागिता थियो ।

वडा सदस्य विजय पौडेलको प्रमुख आतिथ्यता तथा वन समूह उपाध्यक्ष महेन्द्रकुमार श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । प्रतियोगितामा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रीय सदस्य रामहरि चौलागाईं, शिक्षाविद् रमेशप्रसाद लामिछाने तथा वन समूहका लेखा संयोजक राजकुमार फुयाँलले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

समूह सचिव अमुना सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा समूह सल्लाहकार विष्णुप्रसाद न्यौपाने, चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदारप्रसाद गौतम, वन समूहका पदाधिकारी, कर्मचारी, उपभोक्तालगायतको सहभागिता थियो । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्रकृतिको प्रेरणा, जलवायु संरक्षण, भविष्यको सुनिश्चितता’ छ ।