हेटौंडा । एकल निर्णय विवादमा परेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका दल नेता उद्धब थापालाई प्रदेश सांसदबाटै पदमुक्त गर्ने निर्णय गरेको छ । उहाँलाई पार्टी सदस्यबाट समेत निलम्बन गर्ने निर्णय गरिएको हो । पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै थापामाथि ‘कारबाही’ गरिएको हो । राप्रपाले मन्त्री बन्न जाने सांसदलाई समेत कारबाही गर्ने चेतावनी दिएको छ ।
दलका नेता थापाले पार्टीको निर्णयविपरीत प्रदेश सरकार गठनमा समर्थन दिने काममा संलग्न भएको भन्दै यस विषयलाई गम्भीर अनुशासन उलंघनको रुपमा लिएर उहाँलाई केन्द्रीय अनुशासन समितिको सिफारिसबमोजिम प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने, पार्टी सदस्यबाट निलम्बन गर्ने र प्रदेशसभालाई जानकारी पठाउने निर्णय गरिएको छ ।
यसअघि राप्रपा बागमती प्रदेश संसदीय दलका नेताबाट थापालाई हटाउने तयारी भएको थियो । पार्टी हितविपरीत कार्य गरेको भन्दै बहुमत सांसदको हस्ताक्षरसहित थापालाई दलको नेताबाट हटाउने प्रक्रिया अघि बढेको राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले बताउनुभयो ।
थापाविरुद्ध सोमबार अविश्वास प्रस्ताव दर्ता भएको हो । ‘अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । दलको नेता फेर्न बहुमत सदस्यले हस्ताक्षर गरिसक्नुभएको छ,’ प्रमुख सचेतक तामाङले दलको नेता परिवर्त गर्ने अधिकार संसदीय दलको कार्यालयलाई रहेको बताउनुभयो । अब दलको नेता पनि परिवर्तन हुन्छ ।
अविश्वास प्रस्तावको पक्षमा ८ सांसदको हस्ताक्षर छ । मन्त्री बन्ने लाइनमा लागेर सहकार्य गर्न जानेबाहेक सांसदहरुले अविश्वासको पक्षमा हस्ताक्षर गर्नुभएको छ । राप्रपा तत्कालीन अवस्थामा सरकारमा नजाने केन्द्रले निर्णय गरिरहँदा दलका नेता थापाले भने निरन्तर एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने वचन दिँदै आउनुभएको थियो । र, गर्नुभयो पनि । बुधबार एमालेका किरण थापामगरलाई मुख्यमन्त्रीको दाबी पेस गर्न राप्रपाका सबै १२ सांसदको समर्थन रहेको उल्लेख गर्दै थापाले समर्थन जनाउनुभएको थियो । उहाँको गतिविधिले पार्टी अनुशासन उलंघन गरेको भन्दै राप्रपा केन्द्रीय कमिटीले १२ घण्टे लिखित स्पष्टीकरण माग गरेको छ ।












