हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्वीप जारी गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री थापाले सोमबार लिने विश्वासको मतको विपक्षमा मतदान गर्न सांसद्हरुलाई ह्वीप जारी गरेको हो ।

सोमबार दिउ“सो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मत लिने कार्यसूची छ । सोही विषयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले पत्र जारी गर्दै कांग्रेसका सबै सदस्यहरुलाई अनिवार्य उपस्थित हुन र प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशनसहित ह््वीप जारी गरेका हुन् ।

‘प्रदेशसभाको भदौ ८ गते बस्ने बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री किरण थापामगरले पेश गर्नुहुने प्रस्तावको विपक्षमा मतदान गर्न यो ह्वीप जारी गर्दछु,’ प्रमुख सचेतक महर्जनद्वारा जारी पत्रमा भनिएको छ । प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै प्रदेशसभाको आठौं अधिवेशनको १८ औं बैठक सोमबार दिउ“सो १ बजे बस्ने जनाएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सभामुखले बैठकको मिति र समय निर्धारण गरेका हुन् ।

उक्त बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धि प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार थापामगरले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । बागमती प्रदेशमा नयाँ सत्ता समीकरणअन्तर्गत् एमाले, नेकपा र राप्रपाको समर्थनमा भदौ ४ गते बिहीबार थापामगर मुख्यमन्त्री नियुक्त भएका थिए ।