मकवानपुर/बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा उद्धार, राहत र पुनःस्थापनाको व्यवस्थापनका लागि रसुवा पुग्नुभएको छ।
रसुवा जाने मुख्य सडक बाढीका कारण क्षति भएपछि बैकल्पिक मार्ग प्रयोग गरि उहाँ रसुवा पुग्नुभएको हो । रसुवा र नुवाकोटका विभिन्न स्थानमा ठूलो क्षति पुगेको र स्थानीयसँगै आन्तरिक र बाह्य पर्यटकसमेत विभिन्न स्थानमा फसेका कारण प्रदेश सरकारले उद्धार तथा राहतलाई प्राथमिकतामा राखेर काम अघि बढाएको मुख्यमन्त्री थापाले बताउनुभएको छ।

रसुवा तथा नुवाकोटमा फसेका नागरिक र पर्यटकलाई सुरक्षित स्थानमा ल्याउन यातायातको व्यवस्थापनसँगै खाना, खानेपानी, जेनेरेटर र डिजेल, पेट्रोललगायत अत्यावश्यक सामग्रीको तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। विद्युत् सेवा अवरुद्ध भएका क्षेत्रमा जेनेरेटर तथा इन्धनको व्यवस्थापन गरी विद्युतीय सेवा यथाशीघ्र सञ्चालन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो।
धुन्चे जाने मुख्य सडक बाढी र पहिरोका कारण अवरुद्ध भएपछि सडक सञ्चालनका लागि काम सुरु गरिएको छ। सडक खुलेसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन तथा फसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहज हुने प्रदेश सरकारको अपेक्षा छ।
नुवाकोटको ढिकुरे, बाहुनबेसी, नर्डा, छाप, लच्याङ, नौकुण्ड, सरनथली, पाटिखर्क, चिलाउने गाउँ, घिचेत, पुङखोला, पर्च्याङ, भोर्ले, अम्बास, बेत्रावती हुँदै रसुवा जाने सडकखण्डलाई सहज रूपमा सञ्चालनमा ल्याउन आवश्यक काम सुरु गरिएको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो।
बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा सडक सम्पर्क विच्छेद भएकाले वैकल्पिक सडकको प्रयोग गर्ने तथा आवश्यक परे पैदलै भए पनि प्रभावितलाई यातायात सञ्चालन भएको स्थानसम्म पुर्याउने व्यवस्था मिलाइने उहाँको भनाइ छ।
उहाँले रसुवा र नुवाकोटका विभिन्न स्थानमा आन्तरिक तथा बाह्य पर्यटकसमेत फसेको जानकारी आएको बताउँदै उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरी जिरोकिलोसम्म ल्याउने र त्यहाँबाट गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाउने बताउनुभएको छ।
बाढी प्रभावित क्षेत्रमा स्थानीय स्तरमै बसेका पीडितका लागि पनि राहत सामग्रीको व्यवस्थापन भइरहेको छ। घाइते तथा विपद्मा फसेका नागरिकको उद्धार, उपचार, खाना र आवासको व्यवस्थापन प्रदेश सरकारले संघ र स्थानीय तहसँगको समन्वयमा अघि बढाएको उहाँले बताउनुभयो।
मुख्यमन्त्री थापा मगर भदौ १० गते बेलुकादेखि नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत व्यवस्थापनको अवस्थाबारे जानकारी लिनुभएको थियो। नुवाकोटमा आवश्यक व्यवस्थापन तथा सम्बन्धित निकायसँग समन्वय गरेपछि उहाँ रसुवा पुग्नुभएको हो।
रसुवा पुगेपछि मुख्यमन्त्री थापा मगरले जिल्लामा कार्यरत सुरक्षा निकाय, स्थानीय तह, प्रशासन तथा सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरी उद्धार, उपचार र राहतको अवस्थाबारे जानकारी लिनुभएको छ। उहाँले विपद्मा परेका नागरिकलाई तत्काल सहयोग पुर्याउन प्रदेश सरकारका सबै संयन्त्र परिचालन गरिएको बताउनुभयो।
उहाँले विपद्को अवस्थामा उद्धार र राहतमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने खाना, आवास, औषधि, इन्धन तथा यातायातको व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
रसुवामा क्षतिको थप विवरण संकलन, जोखिमयुक्त क्षेत्रको पहिचान तथा तत्कालीन र दीर्घकालीन व्यवस्थापनका लागि सम्बन्धित निकायसँग आवश्यक छलफलसमेत भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।











