हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापामगर नियुक्त हुनुभएको छ । एमाले, नेकपा र राप्रपाको समर्थनमा बिहीबार थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

प्रदेश प्रमुख दीपकप्रसाद देबकोटाले नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनमा दाबी गर्नुभएका थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ । ६३ सांसदको समर्थनमा सरकार गठनका लागि दाबी गर्नुभएका थापाको नियुक्तिको सन्दर्भमा राप्रपाभित्र विवाद छ । विवादबीच थापा मुख्यमन्त्री नियुक्त हुनुभएको छ । थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको दाबी छ ।

मुख्यमन्त्री थापामगरको जन्म २०३३ भदौ १४ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा भएको हो । सामान्य पारिवारिक पृष्ठभूमिमा जन्मिनुभएका मुख्यमन्त्री थापामगर सानै उमेरदेखि सामाजिक सेवा, राजनीति तथा विभिन्न संघसंस्थामार्फत सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ ।

थापा २०४७ सालदेखि राजनीति तथा सामाजिक सेवामा निरन्तर सक्रिय हुनुहुन्छ । उहाँको शैक्षिक योग्यता आईएसम्म छ । मुख्यमन्त्री थापामगर नेकपा एमाले भक्तपुर जिल्ला कमिटी सदस्य हुँदै हाल जिल्ला कमिटी उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । उहाँ २०७४ सालमा सूर्यविनायक नगरपालिका–८ को वडा अध्यक्ष निर्वाचित हुनुभएको थियो । वडा अध्यक्षको कार्यकालमा उहाँले सूर्यविनायक नगरपालिकाको सामाजिक विकास समितिको संयोजकको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो ।

वडा अध्यक्ष रहँदा उहाँले आफूलाई प्राप्त हुने सरकारी भत्ता, इन्धन, फोनलगायत सेवासुबिधा नलिइ सार्वजनिक सेवामा उदाहरण प्रस्तुत गर्नुभएको थियो । वडाबाट प्राप्त सेवासुबिधाबाट बचत भएको रकमसमेत सामाजिक हितमा प्रयोग गर्दै उहाँले १५ लाख बराबरको अक्षयकोष स्थापना गर्नुभएको थियो । उक्त अक्षयकोष हाल ४० लाख पुगेको छ । विपद् तथा महामारीका समयमा थापामगरले विभिन्न विपद्का समयमा अग्रपंक्तिमा रहेर उद्धार तथा राहत कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

२०७९ सालमा उहाँ भक्तपुर निर्वाचन क्षेत्र–२ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँले २०८१ साउन ९ गतेदेखि २०८३ असारसम्म बागमती प्रदेशका स्वास्थ्य मन्त्रीका रुपमा दुई पटक जिम्मेवारी सम्हाल्नुभयो ।

२०७२ सालको भुकम्प तथा २०७५ सालको हनुमन्ते बाढीका क्रममा उहाँ उद्धार तथा राहत कार्यमा अग्रपंक्तिमा खटिनुभएको थियो । कोरोना महामारीका समयमा समेत उहाँले संक्रमित तथा प्रभावित नागरिकको सहयोगमा सक्रिय भूमिका निर्वाह गर्नुभयो । निःशुल्क पीसीआर परीक्षणको व्यवस्था तथा समन्वयमा सक्रिय उहाँले संक्रमितहरुका लागि घरमै अक्सिजन तथा औषधि पु¥याउने, टोलटोलमा स्वास्थ्यकर्मी तथा स्वयम्सेवक परिचालन गर्ने र १ सय बेडको क्वारेन्टाइन स्थापना गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । अलपत्र परेका तथा घर फर्किन चाहने श्रमिकहरुका लागि यातायातको व्यवस्थासमेत मिलाइएको थियो ।