हेटौंडा/गत वर्ष हुन नसके पनि यस वर्ष बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि मकवानपुरमा बन्द प्रशिक्षण सुरु भएको छ ।

प्रदेश खेलकुद विकास परिषद् बागमतीको आयोजनामा जेठ १३ गतेदेखि १५ गतेसम्म काठमाडौंमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बिहीबारबाट मकवानपुरमा बन्द प्रशिक्षण सुरु भएको हो । बन्द प्रशिक्षण मंगलबारसम्म सञ्चालन हुनेछ ।

उसु, तेक्वान्दो, कराते, कबड्डी, भलिबल र एथ्लेटिक्सलगायत ६ विधाका खेलहरुमा रनिङ शिल्ड प्रतियोगितामा सञ्चालन हुनेछ । बन्द प्रशिक्षणमा करिब २० लाख खर्च हुने अनुमान छ । हेटौंडाबाहेक पालिकाबाट आएका खेलाडीहरुका लागि खानासहित बासको व्यवस्था गरिएको छ भने अन्य खेलाडीहरुका लागि डाइट÷खाजाको व्यवस्था गरिएको छ ।

खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिएको जिल्ला खेलकुद अध्यक्ष राजकुमार मोक्तानले जानकारी गराए । यसअघि गत वर्ष जिल्लाबाट छनौट भएका खेलाडीहरुलाई विविध कारण बन्द प्रशिक्षणमा राख्न नसके पनि यस वर्ष भने बन्द प्रशिक्षणमा राखिएको छ । यसअघिको प्रतियोगितामा मकवानपर चौथो स्थान हासिल गर्न सफल भएको उनले बताए । गत वर्षको तुलनामा यस वर्ष अब्बल नतिजा ल्याउने लक्ष्य मकवानपुरले लिएको उनले बताए ।

जिल्लाबाट प्रदेशस्तरीय प्रतियोगिताका लागि छनौट भएर बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु जेठ १२ गते काठमाडौं जाने बताइएको छ । उसुको प्रशिक्षण हेटौंडा—४ हुप्रचौरमा रहेको खेलकुद भवन, हेटौंडा—८ स्थित कमानेको चन्द्रोदय माध्यमिक विद्यालयको चौर र बागमती गाउँपालिका फापरबारीस्थित ठाडीखोलामा भएको उसु संघ सचिव विश्वनाथ पाठकले बताएका छन् । प्रदेशस्तरीय प्रतियोगितामा छनौट भएका उसुतर्फका १२ खेलाडीमध्ये सबभन्दा बढी ९ जना बागमतीका खेलाडीहरु रहेको उनले बताए ।

तेक्वान्दोतर्फ हेटौंडा—४ स्थित कर्रामा रहेको तेक्वान्दोको कभर्डहलमा बिमल बिश्वकर्माले प्रशिक्षण दिइरहेका छन् । एथ्लेटिक्सतर्फ बैकल्पिक २ जनासहित २४ खेलाडीको प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता रहनेछ । यस वर्ष गत वर्षको तुलनामा अझ बढी ल्याउने लक्ष्य लिएको एथ्लेटिक्स संघ अध्यक्ष पाण्डेले बताए । गत वर्षको प्रतियोगितामा मकवानपुर एथ्लेटिक्समा दोस्रो भएको थियो ।

करातेतर्फ प्रदेशस्तरीय प्रतियोगिताका लागि सबभन्दा बढी बकैयाका खेलाडी सहभागी छन् । बकैया—३ स्थित हात्तीसँडेमा भीम घलानले प्रशिक्षण दिएका छन् । बागमती र हेटौंडाका खेलाडीलाई भने हेटौंडा—४ स्थित कभर्डहलमा प्रशिक्षण दिइरहेको छ ।

भलिबलतर्फ छात्रछात्रा ९÷९ जना खेलाडीहरुको बन्द प्रशिक्षणमा सहभागिता रहेको भलिबल प्रशिक्षक नरेन्द्र मोक्तानले जानकारी दिएका छन् । खेलाडीहरुलाई हेटौंडा—४ स्थित हुप्रचौरमा भलिबल प्रशिक्षण दिने गरिएको मोक्तानले बताए । उसु काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेपा) कभर्डहलमा, तेक्वान्दो ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो महासंघको हलमा, भलिबल भुकम्प स्मृति बहुउद्धेश्यीय कभर्ड हलमा, एथलेटिक्स दशरथ रंगशालामा र कराते कराते महासंघ हल सातदोबाटो ललितपुरमा हुनेछ ।