मनहरी/   हाँडीखोला यूथ क्लवले चौथो संस्करणको चैनपुर जेसीज मनहरी कप खुला फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा खरंगा एफसीलाई २-० ले हराउँदै हाँडीखोलाले उपाधी भिडन्त पक्का गरेको हो ।  हाँडीखोलाले पहिलो हाफमै २ गोल गरेको हो । खेलको ९ मिनेटमै हाँडीखोलाले अग्रता लिएको थियो । अनिष बिकले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । २३ औं मिनेटमा गोल गर्दै बिकी चौधरीले अग्रता दोब्बर बनाए । दोस्रो हाफमा दुवै टिमले गोल गर्ने केही राम्रा मौका पाएपनि सदुपयोग गर्न सकेन । खेलको म्यान अफ द म्याच हाँडीखोला यूथका रोसन पहारी घोषित भए । जारी प्रतियोगितामा शनिबार दोस्रो सेमिफाइनल खेल हुनेछ । फाइनल प्रवेशका लागि तपोवन एफसी र साविक विजेता मकवानपुरगढी जेसीज खेल्नेछ । यहि २६ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा विधागत उत्कृष्ट खेलाडी एवम् प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । चैनपुर जेसीज मनहरीको आयोजना तथा मनहरी गाउँपालिका ४ नम्बर वडाको मुख्य प्रायोजनमा प्रतियोगिता सन्चालन भैरहेको हो ।