हेटौँडा / दशैँको अवसरमा माया स्पोर्ट्स सेन्टरको आयोजनामा सुरु भएको हेटौँडा इन्डोर लिग (एचआईएल) २०२६ को पहिलो दिन आयोजक माया स्पोर्ट्स सेन्टरले दुवै खेल जितेर दमदार सुरुवात गरेको छ। पहिलो दिनका ७ खेलमध्ये माया स्पोर्ट्सले दुई, वीरगञ्ज ब्यसर्सले एक, थन्डर स्ट्राइकरले एक, रोयल गोर्खा क्रिकेटले एक, हेटौँडा स्पोर्ट्स एकेडेमीले एक र चमनपुर किंग्सले एक जित हासिल गरे।

उद्घाटन खेलमा माया स्पोर्ट्स सेन्टरले भायानेट कम्युनिकेसनलाई ६९ रनले हरायो। पहिले ब्याटिङ गरेको माया स्पोर्ट्सले १० ओभरमा १ विकेट गुमाएर १३२ रन बनायो। निश्चल श्रेष्ठले २८ बलमा ७० र रोहित शर्माले २९ बलमा ४९ रन जोडे। जवाफमा भायानेट ६ विकेटको क्षतिमा ६३ रनमै सीमित भयो। रोहित ठाकुरले १ ओभरमा २ रन खर्चेर २ विकेट लिए। निश्चल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेल थन्डर स्ट्राइकरले क्याम्पा इलेभेनलाई ४७ रनले पराजित गर्‍यो। थन्डरले १० ओभरमा ५ विकेट गुमाएर १३० रन बनायो, जसमा विशेष विक्रमले २४ बलमा ४६ रन बनाए। जवाफमा क्याम्पा इलेभेन ८ ओभरमा ६ विकेट गुमाएर ८३ रनमा रोकियो। रोहित केशरीको २० बलमा ४५ रन व्यर्थ भयो। विक्रमले बलिङमा २५ रन खर्चेर ३ विकेट पनि लिँदै म्यान अफ द म्याचको पुरस्कार पाए।

त्यस्तै तेस्रो खेल रोयल गोर्खा क्रिकेटले इ-प्लानेटलाई ८ विकेटले हरायो। इ-प्लानेटले ५ विकेट गुमाएर ८५ रन बनायो। लक्ष्य पछ्याएको रोयल गोर्खाले ५.३ ओभरमै २ विकेट गुमाएर ८६ रन बनाउँदै जित निकाल्यो। तुलबहादुर क्षेत्रीले ८ रन खर्चेर १ विकेट लिएपछि १२ बलमा २९ रन बनाउँदै म्यान अफ द म्याच बने। समीर अली १५ बलमा अविजित ३८ रनमा रहे।

त्यस्तै चौथो खेल माया स्पोर्ट्स सेन्टरले वीरगन्ज ब्यसर्षलाई ४५ रनले पराजित गर्‍यो। माया स्पोर्ट्सले ४ विकेट गुमाएर १४२ रन बनायो, जसमा निश्चल श्रेष्ठले २० बलमा ४७ र एमडी अहमद रजाले १७ बलमा ४१ रन बनाए। जवाफमा वीरगन्ज ५ विकेटमा ९७ रनमा सीमित भयो। सैफ अलीले १३ बलमा ३८ रन बनाए। निश्चल श्रेष्ठ फेरि म्यान अफ द म्याच बने।

त्यस्तै पाँचौँ खेल हेटौँडा स्पोर्ट्स एकेडेमीले ई-प्लानेटलाई १० विकेटले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको ई-प्लानेटले ९.५ ओभरमा ६ विकेट गुमाएर ८२ रन बनाएको थियो। जवाफमा हेटौँडा स्पोर्ट्स एकेडेमीले ६.५ ओभरमै कुनै विकेट नगुमाई ८७ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। युबिन बुडाथोकीले १९ बलमा ४८ र रबिन गुरुङले २० बलमा ३३ रन बनाए। बलिङमा नितेश बज्राचार्यले १.५ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए। उत्कृष्ट प्रदर्शन गरेका युबिन बुडाथोकी म्यान अफ द म्याच घोषित भए।

त्यस्तै छैटौँ खेल वीरगञ्ज ब्यासर्षले भायानेटलाई ४ विकेटले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको भायानेटले १० ओभरमा ३ विकेट गुमाएर १२२ रन बनाएको थियो। सुजन चौलागाईंले ३० बलमा ८१ रनको उत्कृष्ट पारी खेले भने मिथिलेश गुप्ताले १३ बलमा अविजित १० रन बनाए। १२३ रनको लक्ष्य पछ्याएको वीरगञ्ज बासर्सले ८.३ ओभरमा ३ विकेट गुमाएर १२६ रन बनायो। अफताब अहमदले २० बलमा ५७ र अवय कर्णले १२ बलमा ३५ रन जोडे। बलिङमा भायानेटका अरुण दहालले २ ओभरमा १७ रन खर्चेर १ विकेट लिए भने वीरगञ्जका रोबिन कुमालले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए। अफताब अहमद म्यान अफ द म्याच घोषित भए।

त्यस्तै सातौँ खेल चमनपुर किंग्सले तराई लायन्सलाई १४ रनले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको चमनपुर किंग्सले १० ओभरमा ४ विकेट गुमाएर १११ रन बनाएको थियो। डब्लु मलिकले १७ बलमा ३६ र अनित सोनीले १५ बलमा २५ रन बनाए। लक्ष्य पछ्याएको तराई लायन्सले ९.२ ओभरमा ६ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो। दिलराज यादवले २३ बलमा ४३ र रुपेश यादवले ११ बलमा २० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। बलिङमा चामनपुर किंग्सका बिबेक दासले २ ओभरमा १६ रन खर्चेर २ विकेट लिए। ३६ रन बनाएका डब्लु मलिक म्यान अफ द म्याच घोषित भए।

तीनदिने प्रतियोगितामा काठमाडौँ, वीरगञ्ज, चितवन, सर्लाही, बारा र हेटौँडालगायतका जिल्लाका १२ टोली सहभागी छन्। टोलीलाई चार समूहमा बाँडिएको छ र प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्। विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछन्। सबै खेल नेशनल गोल्ड एचडी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेका छन्।