मकवानपुर/ मनहरी गाउँपालिका ४ मसिनेस्थित गोलघर खेल मैदानमा जारी चौथो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार क्वाटरफाइनल चरणको खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो । बिहीबार भएको पहिलो खेलमा साविक उपविजेता तपोवन एफसीलाई हराउँदै तपोवन एफसी सेमिफाइनल प्रवेश गरेको छ । तपोवनले पटिहानीलाई २-१ गोल अन्तरले हराएको हो । तपोवनका लागि विदेशी खेलाडी विन्दु र प्रनिस जंगले गोल गरेका हुन् । पटिहानीला तर्फबाट विश्व लामाले एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । विदेशी खेलाडी विन्दु खेलको म्यान अफ द म्याच घोषित भए । यस्तै दोस्रो खेलमा कमाने फुटबल एकेडेमीलाई १-० ले हराउँदै साविक विजेता मकवानपुरगढी जेसीज सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ११ औं मिनेटमा विक्रम थोकरले गरेको गोल नै निर्णायक बन्यो । थोकर नै खेलको म्यान अफ द म्याच घोषित भए । जारी प्रतियोगितामा शुक्रबारबाट सेमिफाइनल चरणको खेल हुनेछ । पहिलो सेमिफाइनलमा हाँडीखोला यूथ क्लव र खरंगा एफसी मनहरी खेल्नेछ । यहि असोज २६ गतेसम्म हुने प्रतियोगितामा १२ वटा क्लवको सहभागिता रहेको छ । प्रतियोगिता संयोजक नवराज रिजालका अनुसार विजेताले १ लाख एक हजार १११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । चैनपुर जेसीज मनहरीको आयोजना तथा मनहरी गाउँपालिका ४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा प्रतियोगिता सन्चालन भैरहेको हो । प्रतियोगितालाई मनहरी गाउँपालिकाको कार्यालय, बागमती प्रदेश खेलकुद विकास परिषद्, सानाकिसान कृषि सहकारी संस्था, आइअप्टिक लगायतको संघसंस्थाको सहयोग रहेको छ ।











