हेटौँडा/ दशैँको अवसरमा माया स्पोर्ट्स सेन्टरको आयोजनामा हेटौँडा इन्डोर लिग (Hetauda Indoor League) २०२६ शुक्रबारदेखि हेटौँडामा सुरु हुने भएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेसँगै खेलाडी, आयोजक तथा क्रिकेटप्रेमीहरू उत्साहित बनेका छन्।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौँ, वीरगञ्ज, चितवन, सर्लाही, बारा, हेटौडा लगायतका जिल्लाबाट १२ टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्।
प्रतियोगिताको पहिलो दिन असोज २३ गते शुक्रबार सात खेल हुनेछन्। बिहान ८ बजे हुने उद्घाटन खेलमा माया स्पोर्ट्स सेन्टर र भायानेट कम्युनिकेसन भिड्नेछन्। त्यसपछि थन्डर स्ट्राइकर र क्याम्पा XI, रोयल गोर्खा क्रिकेट र इ-प्लानेट तथा भायानेट कम्युनिकेसन र वीरगञ्ज बासर्सबीच प्रतिस्पर्धा हुनेछ।
पहिलो दिनका अन्य खेलमा हेटौँडा स्पोर्ट्स एकेडेमी र इ-प्लानेट, तराई लायन्स र चमनपुर सुपर किङ्स तथा माया स्पोर्ट्स सेन्टर र वीरगञ्ज बेसर्सबीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै असोज २४ गते शनिबार प्रतियोगिताको दोस्रो दिन समूह चरणका खेलसँगै क्वार्टरफाइनलका चार खेल सञ्चालन हुनेछन्। बिहान ८ बजे भेट्रान स्ट्राइकर्स र क्याम्पा XI बीच खेल हुनेछ। त्यसपछि याङ्ग्री ब्वाइज र तराई लायन्स तथा हेटौँडा स्पोर्ट्स एकेडेमी र रोयल गोर्खा क्रिकेटबीच प्रतिस्पर्धा हुनेछ। दिउँसो २ बजेदेखि क्वार्टरफाइनलका चार खेल सुरु हुनेछन्। प्रतियोगिताका सम्पूर्ण खेल माया स्पोर्ट्स सेन्टर, हेटौँडामा सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। माया स्पोर्ट्स सेन्टरका सञ्चालक विप्लव पौडेलले प्रतियोगिताले खेलाडीमा उत्साह बढाउनुका साथै आपसी एकता र स्वस्थ प्रतिस्पर्धाको विकासमा योगदान पुर्याउने बताउनुभयो। विभिन्न जिल्लाका खेलाडी तथा टोलीलाई एउटै प्रतियोगितामा सहभागी गराएर अनुभव आदानप्रदान गर्ने र क्रिकेटको विकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो। दशैँको अवसरमा आयोजना हुन लागेको प्रतियोगिताले हेटौँडामा क्रिकेटको माहोल थप तताउने अपेक्षा गरिएको छ। प्रतियोगिताका सम्पूर्ण खेलहरू नेशनल गोल्ड एचडी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछन्।











