हेटौंडा/संविधान दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।

मकवानपुर तेक्वान्दो डोजाङ हेटौंडा–४ को व्यवस्थापनमा आयोजित प्रतियोगितामा मकवानपुर जिल्ला तेक्वान्दो संघ हेटौंडाले प्राविधिक सहयोग गरेको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको प्रमुख आतिथ्यता तथा मकवानपुर तेक्वान्दो डोजाङ हेटौंडा–४ का संयोजक निरु थापामगरको सभाध्यक्षतामा भएको हो । प्रतियोगितामा १४ वटा तेक्वान्दो डोजाङका करिब १ सय ६० जुनियर खेलाडी सहभागी छन् । खेलाडीको प्रतिभा पहिचान, प्रोत्साहन तथा खेलकुदको विकास गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री थापामगरले खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि संघीय, प्रदेश र स्थानीय तीन तहका सरकारले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको बताए । खेलकुद पूर्वाधार निर्माणस“गै विभिन्न खेलका प्रतियोगिता आयोजना तथा डोजाङ स्थापना गर्न सरकारले लगानी गरिरहेको उनको भनाइ छ । संघीयता कार्यान्वयनपछि स्थानीय तहले समेत आफ्नो क्षेत्रभित्र रहेका खेल र खेलाडीको विकासका लागि बजेट विनियोजन गर्दै आएको उनले बताए । प्रदेश सरकारले पनि बागमती प्रदेशका १३ जिल्ला र १ सय १९ स्थानीय तहमा सम्भावनाका आधारमा खेलकुद क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिरहेको मुख्यमन्त्री थापामगरको भनाइ छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा टोलीलाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने छ । हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालय र नगरस्तरीय क्रिकेट व्यवस्थापन समिति हेटौंडा–४ को व्यवस्थापनमा नगरस्तरीय क्रिकेट प्रतियोगितासमेत आयोजना हु“दैछ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाबाट टोली सहभागी हुनेछन् भने प्रतियोगिताको प्राविधिक सहयोग मकवानपुर क्रिकेट संघ हेटौंडाले गर्नेछ ।