मनहरी / चैनपुर जेसीज मनहरीले सन्चालन गरिरहेको चौथो संस्करणको चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगितामा खरंगा एफसी क्वाटरफाइनल प्रवेश गरेको छ । आइतबार भएको खेलमा मनहरी ५ नम्बर वडालाई १-० गोल अन्तरले हराउँदै खरंगाले क्वाटरफाइनलमा स्थान बनाएको हो । खरंगाको जितमा वैकल्पिक खेलाडी विशाल विक नायक बने । साइडबाट आएको बललाई उनले सहजै जाली चुमाएका हुन् । उनी नै खेलको म्यान अफ द म्याच बने । जारी प्रतियोगितामा सोमबार चुरियामाई क्लव र कमाने फुटबल एकेडेमीको बीचमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चितवन र मकवानपुरका गरी १२ क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख एक हजार १११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक नवराज रिजालले जानकारी दिए । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । चैनपुर जेसीज मनहरीको आयोजनामा भएको प्रतियोगितालाई मनहरी गाउँपालिका ४ नम्बर वडा कार्यालयले मुख्य प्रायोजन गरेको छ । यस्तै मनहरी गाउँपालिकाको कार्यालय, बागमती प्रदेश खेलकुद विकास परिषद, सानाकिसान कृषि सहकारी संस्था हाँडीखोलालगायतको सहयोग रहेको जेसीजका अध्यक्ष सुरेश गौतमले जानकारी दिए ।











