हेटौंडा/हेटौंडामा राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने भएको छ । जिल्ला बक्सिङ संघ मकवानपुरको आयोजनामा जेठ १३ गतेदेखि १६ गतेसम्म हेटौंडा–४ स्थित पारिजातपथमा रहेको कभर्ड हलमा युथ–१९ र युथ–२२ उमेर समूहको अल नेपाल ओपन बक्सिङ प्रतियोगिता हुने भएको हो ।
प्रदेश खेलकुद विकास परिषद्को करिब २४ लाख ५० हजार रुपैयाँ सहयोगमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न २८ वटा क्लबका करिब दुईसय खेलाडी सहभागी हुने अनुमान गरिएको छ । संघ मकवानपुर अध्यक्ष सुशील घिमिरेका अनुसार प्रतियोगितामा करिब ३० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । प्रतियोगितामा युथ–१९ तर्फ ७ वटा र युथ–२२ तर्फ ७ वटा गरी १४ वटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ दुई उमेर समूहमा एक÷एक तौल समूह निर्धारण गरिएको छ ।
प्रतियोगिता तयारी तीब्ररुपमा अगाडि बढिरहेको विहीबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगिताको प्रत्येक तौल समूहका पहिलो र दोस्रो हुनेले क्रमशः १० र ५ हजार तथा सेमिफाइनलमा पुग्नेले ३/३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी, प्रशिक्षक र क्लबलाई नगद १०/१० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलाडीको हामीले इन्स्योरेन्स गरेका छौं ।’, संघका मकवानपुर प्रशिक्षक लालबहादुर पौडेलका अनुसार प्रत्येक दिन ‘बक्सर अफ डे’बाट एकजना खेलाडीलाई सम्मान गरिनेछ ।
‘खेलाडी उत्पादन गर्न यस प्रतियोगिता आयोजना गरिएको हो । जुनियर खेलाडीको देशभरको अवस्था कस्तो छ भनेर यस प्रतियोगिताबाट थाहा हुनेछ ।’, पौडेलका अनुसार प्रतियोगितामा विभागीय टोली सहभागी हुने छैनन् । संघका उपाध्यक्ष उज्ज्वल भण्डारीका अनुसार प्रतियोगितामा मकवानपुरबाट दुई टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि अपुग रकम स्थानीय विभिन्न दाताको सहयोगमा जुटाइने भण्डारीले जानकारी दिए ।














