हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुर र एपीएफ नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले शनिबार दिउँसो करिब १२ः१५ बजे उनीहरूलाई पक्राउ गरेको हो ।
टोलीले बा.प्र.०३–००१ ह ११८१ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटो भाग्न खोजेपछि ब्युरोबाट खटिएको टोलीले एक राउण्ड हवाई फायर गरेको थियो ।
त्यसक्रममा ७.६५ एमएम क्यालिबरको एक थान सेमी अटोमेटिक पेस्तोल, सोही पेस्तोलमा लाग्ने एक थान म्यागजिन र पिँदीमा चोट लागेको ७.६५ एमएमको एक राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।






















