हेटौंडा । संघीय बजेट मौन रहे पनि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गौरीटार रंगशालालाई प्रदेशको गौरवको आयोजनाका रुपमा अघि बढाइएको बताएका छन् । उनले क्रिकेट मैदानसँगै प्यारापिट, हेल्थडेक्स, सिन्थेटिक ट्याकलगायत पूर्वाधार निर्माण गरी रंगशालालाई बहुउद्धेश्यीय खेलकुद केन्द्रका रुपमा विकास गरिने जानकारी दिए ।
उक्त रंगशाला प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको हो । हेटौंंडाको गौरीटार रंगशालालाई अन्तर्राष्ट्रियस्तरको आधुनिक खेलकुद केन्द्रका रुपमा विकास गरिने बताएका उनले प्रदेश सरकारले आगामी बजेटमार्फत आवश्यक स्रोत व्यवस्थापन गरी रंगशालाको पूर्वाधार विस्तार तथा स्तरोन्नतिलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेशको खेलकुद विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लगायत सरोकारवाला निकायसँग समन्वय गरेर राष्ट्रिय तथा अन्तरप्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न सकिने वातावरण तयार पारिने बताए ।

खेलाडीहरुको भविष्य सुरक्षित गर्न प्रदेश सरकारले ‘बागमती प्रदेशको शान, खेलाडीको सम्मान’ अभियान अघि सारेको उल्लेख गर्दै योगदान पु¥याएका खेलाडीलाई खेलजीवनपछि पनि सम्मान र भत्ताको व्यवस्था गरिने उनले बताए ।
कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले गौरीटार क्रिकेट मैदान बागमती प्रदेशको क्रिकेट विकासको केन्द्र बन्ने विश्वास व्यक्त गरे । उनले क्रिकेट खेलाडीहरुले अब आफ्नै सुबिधासम्पन्न मैदान पाएको उल्लेख गर्दै यसबाट प्रदेशमा थप प्रतिभावान खेलाडी उत्पादन हुने अपेक्षा व्यक्त गरे ।
प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव दीपक लामाका अनुसार गौरीटार क्रिकेट मैदान अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाँच वटा पिचसहित निर्माण गरिएको छ। दुई वर्षअघि सुरु भएको निर्माण कार्यमा ११ करोड ७४ लाख खर्च भएको छ । मैदानमा आधुनिक भूमिगत ड्रेनेज प्रणाली, बर्मडा दुबो, ६ सय दर्शक क्षमताको प्यारापिट, भीभीआईपी कक्ष, खेलाडी चेञ्जिङ रुम, मिडिया तथा प्रसारण कक्षलगायत संरचना निर्माण भइसकेका छन् । उद्घाटनकै दिन ऐतिहासिक अवसर पारेर बागमती कप टी—२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रदेश सरकारले गौरीटार रंगशालालाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्ने स्तरको खेलकुद पूर्वाधारका रुपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।
उक्त रंगशालामा २०७० सालमा महिलाको राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन गरिएको थियो । त्यसयता उक्त रंगशालामा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता हुन सकेको थिएन । तर, २०८० माघमा हेटौंडा उपमहानगरपालिका—६ स्थित उक्त गौरीटारस्थित रंगशालामा शहीद स्मृति गोल्डकप हेर्न दैनिक तीन हजार हाराहारी दर्शक आएका थिए । उनीहरुले त्यस बेला निर्माणाधीन प्याराफिटमा बसेर खेलको मज्जा लिएका थिए ।
२८ जेठ २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रंगशालामा केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माणको शिलान्यास गरेका थिए । त्यतिबेला पाँच वर्षमा निर्माण सक्ने भने पनि बजेट न्यून मात्र पाउँदा रंगशालाको वरपर पर्खाल लगाउने र खेलाडीको छात्रावासमात्र बनेको थियो । २०७४ मा प्रदेश सरकार गठन भएपछि बागमतीका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले रंगशाला निर्माणको काम अघि बढाएका थिए ।
प्रदेशले हरेक वर्ष बजेट छुट्याए पनि रंगशालाको काम पूरा भएको छैन । प्रदेशले एकै वर्षमा पर्याप्त बजेट दिन नसकिने र बजेट भए पनि एकै वर्षमा काम सम्पन्न हुन नसक्ने अवस्थाले गर्दा प्रदेश सरकारबाट बहुवर्षीय क्रमागत आयोजनाका रुपमा स्वीकृत गरेर काम गरिरहेको बताएको छ ।
त्यहाँ रंगशाला निर्माणको घोषणा गरिएको २०३९ सालमा हो । त्यतिबेला हेटौंडामा प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता सञ्चालन हुँदा गौरीटारमा सुबिधासम्पन्न रंगशाला बनाउने घोषणा गरिएको थियो । चार दशक अघि गौरीटार रंगशालामा खेलकुदको अभ्यास गर्ने सपना देखेका कतिपय खेलाडीले संसारबाट बिदा लिइसकेका छन् भने कतिपय खेलाडीले खेलजीवनबाट सन्न्यास लिइसकेका छन् ।



















