काठमाडौं/सरकारको कार्यसम्पादनको विषयमा पार्टीभित्र र बाहिरबाट प्रश्न उठिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । अपेक्षाअनुसार काम गर्न नसकेको मूल्यांकनमा परेका मन्त्रीलाई हटाएर नया“ अनुहारलाई सरकारमा सहभागी गराउने उनको तयारी छ ।
प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेस“गको पछिल्लो भेटमा मन्त्रिपरिषद् पुनर्गठन गरेर सरकारको कामकारबाहीमा नया“पन ल्याउन चाहेको बताएका छन् । स्रोतका अनुसार जवाफमा सभापति लामिछानेले मन्त्री परिवर्तनभन्दा सरकारको समग्र कार्यशैली सुधारमा आफ्नो चासो रहेको बताएका थिए । उनले सरकारको काम गर्ने तौरतरिकामा सुधार गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्री शाहले तत्काल ४ मन्त्रीलाई हटाउने मनस्थिति बनाएको उनीनिकट स्रोतको दाबी छ । हटाउने सूचीमा ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्री विराजभक्त श्रेष्ठ, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी रहेको स्रोतले जनाएको छ । यीमध्ये श्रेष्ठ सभापति लामिछानेनिकट हुन् भने मेहता, चौधरी र बादी प्रधानमन्त्री शाहनिकट मानिन्छन् । प्रधानमन्त्रीले आफ्नै समूहका ३ मन्त्रीसमेत परिवर्तन गर्न खोजेको स्रोतको भनाइ छ । यद्यपि, रास्वपाले मन्त्रिपरिषद् पुनर्गठनबारे औपचारिक छलफल नभएको जनाएको छ । पार्टी प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद् पुनर्गठनको विषयमा पार्टीमा कुनै औपचारिक छलफल नभएको बताए ।
सहप्रवक्ता सुरेन्द्र चौधरीले पनि पार्टीमा यसबारे छलफल नभएको स्पष्ट पारे । मन्त्रिपरिषद् पुनर्गठन पार्टीबाट निर्णय गराउनुपर्ने विषय नभएको उल्लेख गर्दै उनले सभापति र प्रधानमन्त्रीबीच आपसी संवादबाट यस्तो निर्णय हुन सक्ने बताए । मन्त्रिपरिषद् पुनर्गठनको तयारीस“गै रास्वपाको केन्द्रीय समिति र पदाधिकारीलाई पूर्णता दिने विषय पनि अघि बढेको छ । महाधिवेशन भएको करिब साढे ४ महिना बितिसक्दा पनि पार्टीको केन्द्रीय समिति तथा पदाधिकारी संरचना पूर्ण हुन सकेको छैन । ७ देखि १२ असारसम्म सम्पन्न पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा एकता कायम राख्ने उद्धेश्यले बालेन शाह नेतृत्वको समूहलाई चुनावी प्रतिस्पर्धामा सहभागी गराइएको थिएन । उक्त समूहलाई मनोनयनमार्फत् पार्टीको केन्द्रीय समिति र पदाधिकारीमा समेट्ने व्यवस्था गरिएको थियो । तर, प्रधानमन्त्री शाहले आफ्नो समूहबाट मनोनयनका लागि नाम टुंग्याउन ढिलाइ गर्दा पार्टीको संगठनात्मक संरचना विस्तार हुन सकेको थिएन । हाल भने बालेन समूहले केन्द्रीय सदस्यका लागि २६ जनाको नाम सभापति लामिछानेलाई बुझाएको छ ।
रास्वपा स्रोतका अनुसार गत साता बुझाइएको उक्त नामावलीमाथि सभापति लामिछानेले निकट नेताहरुस“ग छलफल गरिरहेका छन् । उनले प्रस्तावित २६ जनालाई नै जस्ताको तस्तै मनोनयन नगरी प्रत्येक व्यक्तिको पृष्ठभूमि अध्ययन गरेर उपयुक्त व्यक्तिलाई मात्र जिम्मेवारी दिने तयारी गरेको स्रोतको भनाइ छ । रास्वपाको विधानअनुसार केन्द्रीय समिति १ सय ५८ सदस्यीय हुनेछ । त्यसमा सभापतिले ५१ जना मनोनयन गर्न पाउने व्यवस्था छ । ५ भदौमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सुनील लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भुपदेव शाह, पुरुषोत्तम सुप्रभात यादब, मनोहर प्रधान, वसुमाया तामाङ, सुरेन्द्र चौधरी र भक्तबहादुर राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको थियो । त्यसयता थप मनोनयन हुन सकेको छैन ।
रास्वपाको १८ सदस्यीय पदाधिकारीमध्ये ११ जना केन्द्रीय सदस्यमध्येबाट सभापतिले चयन गर्ने व्यवस्था छ । यसअन्तर्गत् १ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री, १ प्रवक्ता, ३ सहप्रवक्ता, १ कोषाध्यक्ष र २ सहकोषाध्यक्ष चयन गर्न सकिन्छ । ५ भदौको बैठकबाट सहमहामन्त्रीमा पुरुषोत्तम सुप्रभात यादब, कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्षमा वसुमाया तामाङ र प्रवक्तामा जगदीश खरेल चयन भएका थिए । अझ १ उपसभापति, १ महामन्त्री, १ सहमहामन्त्री, १ सहप्रवक्ता र १ सहकोषाध्यक्ष चयन हुन बा“की छ । यी पद बालेन समूहका लागि छुट्याइएको भए पनि उक्त समूहले पदाधिकारीका लागि नाम टुंग्याउन नसक्दा नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन । पदाधिकारी चयन हुन नसक्दा पार्टीको सचिवालयले समेत पूर्णता पाउन सकेको छैन ।






















