मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुबाहक ईभी दुर्घटना भएको छ ।
बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौं बाट सर्लाहीका लागि आउँदै गरेको यात्रुबाहक ईभी गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रारम्भिक विवरणअनुसार गाडीमा चालकसहित १३/१४ जना सवार रहेको खुलेको छ । दुर्घटनाको खबरपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र विपद् व्यवस्थापन टोली घटनास्थल पुगेर उद्धार कार्यमा जुटेका छन् ।
उद्धारका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट ७ जना, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा १० जना, बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्याङबाट १० जना, सशस्त्र प्रहरी बलबाट १० जना र नेपाली सेनाबाट ११ जनाको टोली परिचालन गरिएको छ ।
दुर्घटनामा मानवीय क्षति तथा घाइतेको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उद्धार कार्य जारी छ ।




















