मकवानपुरको भिम्फेदी -६,चिसापानीमा ईभी दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्तले क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन्। संघीय सरकारले विशेष रूपमा पीडित परिवारलाई सम्बोधन गर्नुपर्ने उनीहरूको माग छ।
मृतकका आफन्तले यसअघि प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारका सदस्यलाई रोजगारी र घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राखेका थिए। पछिल्लो समय संघीय सरकारबाटै थप सम्बोधन हुनुपर्ने अडान उनीहरूले लिएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये एक जनाको शव परिवारले बुझिसकेको छ भने बाँकी १३ जनाको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ।
पीडित परिवार, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, प्रहरी प्रमुख एसपी श्यामबहादुर खत्रीलगायतको उपस्थितिमा भएको छलफल निष्कर्षविहीन बनेको थियो। माग र क्षतिपूर्तिबारे आज पनि छलफल हुने प्रहरीले जनाएको छ।
बिहीबार बिहान चिसापानीगढीमा भएको ईभी दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।



















