मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुवाहक ईभी हाइस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
बिहान करिब ५ः४५ बजे काठमाडौंँबाट सर्लाहीतर्फ आउँदै गरेको प्रदेश ३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी हाइस सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो।
प्राप्त पछिल्लो जानकारीअनुसार दुर्घटनामा परी मृत्यु हुनेमा ३ महिला, ५ पुरुष र २ बालिका गरी १० जना रहेका छन्। त्यसैगरी घाइते हुनेमा २ बालक र ३ पुरुष गरी ५ जना रहेका छन्।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय भीमफेदी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मको टोली उद्धारमा खटिएको छ।
घटनास्थलमा उद्धार कार्य जारी रहेको र मृतक तथा घाइतेहरूको विस्तृत परिचय खुल्न बाँकी रहेको छ।




















