हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७२ करोड ७५ लाख २३ हजारको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेको छ । पालिकाको चौधौं गाउँसभाको प्रथम बैठकमा उपाध्यक्ष मानकुमारी पाख्रिननेपालीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, सुशासन र वातावरण संरक्षणलाई विकासका मुख्य आधारस्तम्भका रुपमा अघि बढाइने उल्लेख गरिएको छ ।
प्रस्तावित बजेटमध्ये ४३ करोड ९० लाख २३ हजार (६०.३५ प्रतिशत्) चालु खर्च तथा २८ करोड ८५ लाख (३९.६५ प्रतिशत्) पुँजीगत् खर्चतर्फ विनियोजन गरिएको छ । बजेटका लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड ९० लाख, राजस्व बाँडफाँटबाट २२ करोड १९ लाख तथा आन्तरिक आय र गत वर्षको मौज्दात गरी ८ करोड ८३ लाख प्राप्त हने अनुमान गरिएको छ ।
क्षेत्रगत् बजेट विनियोजनतर्फ सामाजिक विकासमा ३२ करोड १ लाख ७८ हजार, पूर्वाधार विकासमा २३ करोड ३० लाख, आर्थिक विकासमा ५ करोड ४५ लाख, संस्थागत् विकास तथा सुशासनमा १ करोड ३ लाख र वन, वातावरण तथा विपद् व्यवस्थापनमा ७० लाख ३५ हजार विनियोजन गरिएको छ । पालिकाले ‘समृद्ध मकवानपुरगढी, सुखी नागरिक’ को दीर्घकालीन लक्ष्यसहित स्थानीय स्रोत, सिप र सम्भावना उपयोग गर्दै आत्मनिर्भर, प्रविधिमैत्री, हरित र समावेशी पालिका निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
नीति तथा कार्यक्रममा कृषिक्षेत्रलाई उत्पादनमुखी र बजारमुखी बनाउने, रैथाने बाली संरक्षण, जैविक खेती, स्मार्ट कृषि, सिचाईं विस्तार तथा किसान परिचयपत्र कार्यक्रमलाई प्राथमिकता दिइएको छ । पशुपालनलाई आधुनिक प्रविधिसँग जोड्दै दुग्ध, मासु तथा पशुजन्य उत्पादनको मूल्यशृंखला विकास, पशु वीमा, खोप तथा साइलेज उद्योग सञ्चालन गरिने जनाइएको छ ।
पर्यटन प्रवद्र्धनअन्तर्गत् मकवानपुरगढी दरबार, ऋखेश्वर गुफा, ढुंगेगढी, मनकामना क्षेत्र, छत्रेलेक पाथीभरा मन्दिर, हेलिग्राफ तथा अन्य धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षण र प्रवद्र्धन गरिने छ । होमस्टे, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई एकीकृतरुपमा विकास गरिने नीति लिइएको छ । शिक्षा क्षेत्रमा डिजिटल सिकाइ, करियर मार्गदर्शन, छात्रवृत्ति तथा पढ्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी बनाइने जनाइएको छ भने स्वास्थ्यतर्फ आधारभुत अस्पताल सुदृढीकरण, प्रयोगशाला सेवा विस्तार, मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य तथा नसर्ने रोग नियन्त्रण कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
पालिकाले खानेपानी बोर्ड गठन गरी खानेपानी उपभोक्ता समितिहरुलाई आबद्ध गराउने, सुरक्षित खानेपानी र ‘एक घर—एक धारा’ अभियानलाई निरन्तरता दिने नीति पनि अघि सारेको छ । सूचनाप्रविधिमा आधारित सेवाप्रवाह, डिजिटल नागरिक वडापत्र, अनलाइन अभिलेख तथा पारदर्शी प्रशासनलाई प्राथमिकतामा राखिएको छ ।

















