हेटौँडा/भोटेकोसी बाढीबाट प्रभावित मानिसहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले मकवानपुरको भीमफेदी गाउँपालिकाले रसुवा र नुवाकोटका अति प्रभावित पाँच गाउँपालिकालाई आर्थिक सहयोग गर्ने भएको छ।

गाउँपालिकाले रसुवा र नुवाकोट जिल्लाका अति प्रभावित स्थानीय तहलाई प्रति पालिका १ लाख रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको हो। गाउँपालिकाका अनुसार उक्त रकम सम्बन्धित पालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिनेछ।

सहयोग पाउने पालिकामा रसुवाको गोसाइँकुण्ड र उत्तरगया गाउँपालिका तथा नुवाकोटका आमाछोदिङ्मो, कालिका र किस्पाङ गाउँपालिका रहेका छन्।

बाढीका कारण प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार र पुनर्स्थापनामा स्थानीय तहबीच सहकार्य तथा समन्वय आवश्यक रहेको भन्दै भीमफेदी गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

गाउँपालिकाले उक्त सहयोग रकम जनप्रतिनिधि तथा कर्मचारीहरूको सहयोग रकम र गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट व्यवस्थापन गर्ने जनाएको छ।

त्यस्तै, भोटेकोसी बाढीका क्रममा मृत्यु तथा बेपत्ता भएका भीमफेदी गाउँपालिकाभित्रका परिवारलाई समेत गाउँपालिकाको प्रचलित कार्यविधि तथा मापदण्डअनुसार राहत उपलब्ध गराउने निर्णय गरिएको छ।

भीमफेदी गाउँपालिकाले विपद्को दुःखद् घडीमा प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै आवश्यक सहयोग, समन्वय र सहकार्यका लागि प्रतिबद्ध रहेको जनाएको छ।