हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले हेटौंडा–१९, बासुदेव खोलाले बगाएर मृत्यु भएका ३ र १ घाइतेको प्रतिपरिवारलाई नगद २५ हजार रुपियाँ सहयोग प्रदान गर्ने भएको छ ।

शुक्रबार बसेको नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्यसमितिको बैठकले मृतकका परिवार तथा घाइते विद्यार्थीलाई जनही २५ हजार राहत उपलब्ध गराउने निर्णय गरेको जिल्ला सभापति बुद्ध लामाले जानकारी दिनुभयो । कांग्रेस मकवानपुरले शोक वक्तव्य जारी गर्दै घटनामा ज्यान गुमाएका बालिकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको जनाइएको छ ।

जिल्ला समितिले प्राकृतिक विपत्तिका कारण भएको दुःखद् घटनाबाट प्रभावित परिवारलाई राहत तथा सहयोगका लागि सबै पक्षलाई संवेदनशील बन्न आग्रहसमेत गरेको छ । विद्यालयको पढाइ सकेर घर फर्किने क्रममा भदौ २ गते साँझ करिब ५ः३० बजे बासुदेव खोलाले बगाउँदा स्थानीय निर्मल माविका विद्यार्थीहरु ११ वर्षीया सुमित्रा ब्लोन, १२ वर्षीया बिनिता ब्लोन र ८ वर्षीया रोशनी स्याङ्तानको मृत्यु भएको थियो ।

खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्राको शव चौथो दिन फेला परेको थियो । यससँगै खोलाले बगाएका विद्यार्थीमध्ये मृत्यु हुनेको संख्या तीन पुगेको छ । बगाएकामध्ये राक्सिराङ–१ की रोशनी स्याङ्तानको शव यसअघि नै फेला परेको थियो भने बिनिता ब्लोनको शव बुधबार बासुदेव र राप्तीखोलाको दोभानमा फेला परेको थियो । घटनामा सीमा ब्लोनलाई घाइते अवस्थामा सकुशल उद्धार गरिएको थियो । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

बेपत्ता रहेकी सुमित्राको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय परिचालन भएका थिए । बिहीबार विहान इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजी गर्ने क्रममा बगाएको स्थानबाट करिब ५ किलोमिटर तल मनहरी गाउँपालिका–३, लामिटारस्थित राप्तीखोलामा सुमित्राको शव फेला पारेका हुन् । प्रहरीका अनुसार खोलाको काँस र बालुवामा अल्झिएको अवस्थामा सुमित्राको शव फेला परेको हो । आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक राजेशकुमार बर्तौलाको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो ।