हेटौँडा/ उत्तरी रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाएका हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का बासिन्दा सुमन गोले र रमेश मगरको परिवारलाई स्थानीय सरकारको तर्फबाट तत्काल राहत सहयोग प्रदान गरिने भएको छ। काजकिरिया तथा अन्तिम संस्कारको खर्चमा राहत पुगोस् भन्ने उद्देश्यले वडा कार्यालयको तर्फबाट मृतकका परिवारलाई जनही रु. ५०/५० हजार रुपैयाँ उपलब्ध गराउन लागिएको हो।
विपदको यो कठिन समयमा शोकसन्तप्त परिवारजनको पीडामा मल्हम लगाउन र उनीहरूलाई एक्लो महसुस हुन नदिन वडा कार्यालयले यो पहल लिएको हो। हेटौँडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानले बाढीका कारण अकालमा जीवन गुमाएका आफ्ना नागरिकका परिवारलाई वडाको तर्फबाट किरिया खर्च बापत उक्त ५०-५० हजार रुपैयाँ राहत स्वरूप सहयोग गर्ने जानकारी गराउनुभएको हो।
घटनाको सुरुवाती चरणदेखि नै बेपत्ता नागरिकहरूको खोजी, मध्यबिन्दु तथा भरतपुर अस्पतालबाट शव पहिचान र कानुनी प्रक्रिया पूरा गरी पार्थिव शरीर ल्याउने काममा वडा अध्यक्ष मोक्तान आफैँ निरन्तर खटिँदै आउनुभएको थियो। शव बुझ्ने प्रक्रिया सकिएलगत्तै वडाको तर्फबाट आर्थिक राहतको समेत घोषणा भएपछि शोकाकुल परिवारलाई व्यावहारिक रूपमा ठूलो सहारा पुगेको छ।
विपद्को यस घडीमा स्थानीय तह र जनप्रतिनिधिहरू केवल प्रशासनिक भूमिकामा मात्र सीमित नरही नागरिकको दुःखमा प्रत्यक्ष साथमा उभिनुपर्छ भन्ने उदाहरण हेटौँडा–१५ ले प्रस्तुत गरेको छ। वडा कार्यालयले दुःखको यस असह्य परिस्थितिमा मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गरेको छ।










