काठमाडौं/तरकारी तथा खाद्यान्नको मूल्यमा अस्वभाविक वृद्धि भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷०८३ को असार महिनाको मूल्य विश्लेषण प्रतिवेदनअनुसार बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा तीव्र उतारचढाव देखिएको हो । प्रतिवेदनअनुसार विशेषगरि तरकारी तथा केही खाद्यान्नको मूल्यमा भएको तीव्रवृद्धिले उपभोक्ताको भान्साखर्च बढाएको छ । असारमा सबभन्दा बढी गोलभेंडा र खुर्सानीको मूल्य बढेको पाइएको छ ।
विभागको तथ्यांकअनुसार सानो स्थानीय गोलभेंडाको मूल्य बैशाख र जेठको तुलनामा असारमा २५३ प्रतिशत् बढेको छ । हरियो खुर्सानीको मूल्य १७९.४ प्रतिशत्, दशहरी आ“पको १६० प्रतिशत्, टनेलको सानो गोलभेंडाको १५८.६ प्रतिशत् र पि“डालुको मूल्य १५७ प्रतिशत् बढेको प्रतिवेदनमा उल्लेख छ । भण्टा, बोडी, रायोको साग र हरियो धनिया“को मूल्यमा पनि १०० प्रतिशत्भन्दा बढीको उतारचढाव देखिएको विभागले जनाएको छ ।
चामलको मूल्य बढ्यो
प्रतिवेदनअनुसार बैशाखको तुलनामा असारमा सोना मन्सुली, स्टिम जिरा मसिनो र बासमतीलगायत चामलको मूल्यमा सामान्यदेखि मध्यम वृद्धि भएको छ । कच्चापदार्थको मूल्यवृद्धि र इन्धनको मूल्य उच्च रह“दा ढुवानी लागत बढेकाले चामल र दालको औसत मूल्य उकालो लागेको विभागको विश्लेषण छ ।
तथ्यांकअनुसार विराटनगरमा प्रतिकिलो ६७ मा पाइने सोना मन्सुली चामलको मूल्य नेपालगञ्ज र भैरहवाजस्ता सहरमा ८३ सम्म पुगेको छ । असारमा अण्डा, केरा र चिनीको मूल्यमा समेत वृद्धि भएको छ । यद्यपि, आ“टा र मैदाको थोक मूल्यमा भने बैशाखको तुलनामा सामान्य गिरावट आएको विभागले जनाएको छ । मासु र माछाको मूल्यमा भने ठूलो फेरबदल नभइ सामान्य उतारचढावमात्र देखिएको छ ।
ढुवानी लागतको असर
विभागले मूल्यवृद्धिका पछाडि माग र आपूर्तिस“गै प्राविधिक तथा वाह्य कारणसमेत रहेको औंल्याएको छ । बैशाखदेखि असारसम्म पेट्रोलियम पदार्थको मूल्य उच्च विन्दुमै स्थिर रह“दा ढुवानी तथा यातायात लागत बढेको विभागको विश्लेषण छ । उक्त अवधिमा पेट्रोल प्रतिलिटर २१७ रुपिया“ र डिजेल २२५ रुपिया“मा स्थिर रह“दा त्यसको प्रत्यक्ष प्रभाव दैनिक उपभोग्य वस्तुको मूल्यमा परेको प्रतिवेदनमा उल्लेख छ । असारमा अमेरिकी डलरको विनिमय दरमा १.०७ प्रतिशत् उतारचढाव देखिएको थियो । डलरको मूल्य बलियो हु“दा आयातित वस्तुको लागत बढेर बजार मूल्यमा समेत चाप परेको विभागले जनाएको छ ।
उत्पादन विन्दुदेखि उपभोक्तासम्म पुग्दा धेरै तहका बिचौलिया रहेकाले किसानले कम मूल्यमा उत्पादन बिक्री गर्नुपर्ने र उपभोक्ताले महंगोमा खरिद गर्नुपर्ने अवस्था रहेको विभागको विश्लेषण छ । असारमा यस्तो मूल्य अन्तर थप बढेको देखिएको छ । रुस–युक्रेन युद्ध तथा मध्यपूर्वको तनावका कारण विश्वव्यापी आपूर्ति शृंखलामा परेको अवरोध र भारतमा खाद्यान्न तथा तरकारीको मूल्यवृद्धिले समेत नेपालको बजारलाई प्रत्यक्ष प्रभावित पारेको विभागले जनाएको छ ।












