हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा पालिकास्तरीय आठौं संस्करणको फुटसल रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिता जेठ ३१ गतेदेखि असार २ गतेसम्म सञ्चालन हुने जनाएको छ ।
प्रतियोगिताका खेलहरु मकवानपुरगढी गाउँपालिका—३, मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयको फुटसल मिनीपिचमा सञ्चालन गरिनेछन् । स्थानीयस्तरमा खेलकुदको विकास, युवाहरुमा खेलप्रति रुचि अभिवृद्धि तथा प्रतिभावान खेलाडी पहिचान गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
आयोजकका अनुसार प्रतियोगितामा गाउँपालिकाका आठ वटै वडाबाट १६ टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागी हुने टोलीका लागि प्रतिटोली ५ हजार प्रवेश शुल्क निर्धारण गरिएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । विजेता टोलीले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालनका लागि करिब ५ लाख खर्च अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि मकवानपुरगढी गाउँपालिका वडा नम्बर—३ कार्यालयले २ लाख ९० हजार बजेट विनियोजन गरेको छ भने बाँकी रकम विभिन्न संघसंस्था, व्यवसायी तथा शुभेच्छुकहरुको सहयोगबाट जुटाइने जनाइएको छ ।
पत्रकार सम्मेलनमा फुटसल रनिङशिल्ड प्रतियोगिता खेलकुद समिति अनुगमन समिति संयोजक विजय लामाथोकरले प्रतियोगितासम्बन्धि जानकारी दिँदै खेलकुदमार्फत युवालाई सकारात्मक र सिर्जनशील गतिविधिमा जोड्ने तथा स्थानीय खेलप्रतिभालाई प्रोत्साहन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । प्रतियोगिताको मुख्य प्रायोजन मकवानपुरगढी गाउँपालिका वडा नम्बर—३ वडा कार्यालयले गरेको छ भने प्रतियोगिताको आयोजना फुटसल रनिङशिल्ड प्रतियोगिता खेलकुद समितिले गरेको हो । आयोजकले प्रतियोगितालाई भव्य र सफल बनाउन सम्पूर्ण खेलप्रेमी, स्थानीय तथा सरोकारवाला निकायहरुको सहयोग र सहभागिताका लागि आग्रह गरेको छ ।

















